संसद्मा आज रवि लामिछानेले सम्बोधन गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज बस्ने प्रतिनिधिसभाको बैठकमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा सम्बोधन गर्ने भएका छन्।
रास्वपाका एक सांसदका अनुसार लामिछानेले बाढीका कारण प्रभावित नागरिकको अवस्था, बेपत्ताको खोजी, उद्धार कार्य, राहत वितरण तथा प्रभावित क्षेत्रको पुनर्स्थापनाका विषयमा संसदमार्फत सरकारको ध्यानाकर्षण गराउने छन्। प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्दैछ।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत गर्नेछिन्।
यसैगरी, ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ पनि सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
भोटेकोशीमा आएको बाढीबाट रसुवासहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीपछि बेपत्ताको खोजी, उद्धार तथा प्रभावितलाई राहत उपलब्ध गराउने काम जारी रहेकाले लामिछानेले संसदमा यस विषयलाई प्राथमिकताका साथ उठाउने भएका हुन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment