संघीय संसद्का दुवै सदनको बैठक बस्दै: कानुन संशोधन विधेयक प्रस्तुत हुने

डिसी नेपाल
२४ भदौ २०८३ ६:२७

काठमाडौं। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका दुवै सदनको बैठक आज बस्दैछ। दिउँसो १:०० बजे बस्ने प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन्।

यसैगरी मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावसमेत सदनसमक्ष पेस गर्ने कार्यक्रम छ। संघीय संसद् सचिवालयका अनुसार मन्त्री गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ पनि आजै सभामा प्रस्तुत गर्ने सम्भावित कार्यसूची बनाइएको छ।

यता, अपराह्न १:१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस हुनेछ। समितिका सभापति कृष्णबहादुर रोकायाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेस गर्नेछन्।

साथै, राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार फेरबदल तथा तोकिएको सम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराउनेछन्।

सदनको नियमित बैठकबाहेक आज संसदीय विषयगत समितिहरूतर्फ अर्थ समिति र उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि बस्न लागेको संसद् सचिवालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *