सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
सङ्खुवासभा। सङ्खुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
गएराति हावाहुरी र वर्षासँगै परेको चट्याङले अलैँची भट्टीमा अलैँची केलाउँदै गरेका पाँचखपन–८ पोख्राङका २८ वर्षीय उमेश दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।
चट्याङ लागेर गम्भीर घाइते भएका दाहाललाई तत्काल पाँचखपन आधारभूत अस्पताल वाना लगिएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले जानकारी दिए।
चट्याङकै कारण सोही स्थानका ६४ वर्षीय पुष्पलाल कट्वाल र ६२ वर्षीय छत्रबहादुर दाहाल गम्भीर घाइते भएका छन्। उनीहरू दुवैको पाँचखपन आधारभूत अस्पताल वानामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थल प्रहरी चौकी भर्तिवाल डाँडाबाट करिब चार किलोमिटर पूर्वमा रहेको प्रहरीले जनाएको छ।
वर्षायाममा चट्याङको जोखिम बढ्ने भएकाले खुला स्थान, खेतबारी तथा घरबाहिर काम गर्दा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment