१० हजार एमएएच ब्याट्री क्षमतासहित रेडमी नोट १७ सिरिज नेपाली बजारमा सार्वजनिक

डिसी नेपाल
२६ भदौ २०८३ १३:०४

काठमाडौं। शाओमीले उच्च क्षमताको ब्याट्री र शक्तिशाली कार्यक्षमतासहितको बहुप्रतिक्षित ‘रेडमी नोट १७ सिरिज’ नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ

नयाँ सिरिजअन्तर्गत रेडमी नोट १७, रेडमी नोट १७ ५जी, रेडमी नोट १७ प्रो ५जी र रेडमी नोट १७ प्रो म्याक्स ५जी गरी चारवटा मोडलहरू उपलब्ध गराइएको छ। लामो समयसम्म चल्ने ब्याट्रीका कारण प्रयोगकर्ताले बारम्बार चार्जर बोक्नुपर्ने झन्झटबाट मुक्ति पाउने कम्पनीले जनाएको छ

सार्वजनिक मोडलहरूमध्ये रेडमी नोट १७ र नोट १७ ५जी मा ७,७०० एमएएच क्षमताको ब्याट्री तथा ४५ वाट टर्बो चार्जिङ दिइएको छ

प्रो ५जी मा ८,३४० एमएएच ब्याट्री र ६७ वाट हाइपरचार्ज रहेको छ भने सिरिजको शीर्ष मोडल प्रो म्याक्स ५जी मा १०,००० एमएएच क्षमताको विशाल ब्याट्री, १०० वाट हाइपरचार्ज र २७ वाट रिभर्स चार्जिङ सुविधा समावेश छ

कम्पनीका अनुसार प्रो म्याक्सको ब्याट्री एकपटक पूर्ण चार्ज गर्दा ७२ घण्टासम्म प्रयोग गर्न सकिन्छ भने २० मिनेटको द्रुत चार्जमै दिनभरि प्रयोग गर्न पुग्नेछ। यस सिरिजमा प्रयोग गरिएको ‘रेडमी टाइटन ब्याट्री सिस्टम’ले ब्याट्रीको आयु बढाउनुका साथै ऊर्जा व्यवस्थापनलाई थप प्रभावकारी बनाउँछ

डिस्प्ले तथा क्यामेरातर्फ, प्रो मोडलहरूमा ६.८३ इन्चको १.५के एमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट तथा अधिकतम ३,५०० निट्ससम्मको ब्राइटनेस राखिएको छ। रेडमी नोट १७ र नोट १७ ५जी मा भने ६.९९ इन्चको एफएचडी+ एमोलेड डिस्प्ले रहेको छ

क्यामेराका लागि नोट १७ र नोट १७ ५जी मा ५० मेगापिक्सेल मुख्य र १६ मेगापिक्सेल फ्रन्ट क्यामेरा दिइएको छ। प्रो ५जी मा ५० मेगापिक्सेल मुख्य, ८ मेगापिक्सेल अल्ट्रा-वाइड र १६ मेगापिक्सेल फ्रन्ट क्यामेरा छ भने प्रो म्याक्स ५जी मा ५० मेगापिक्सेल मुख्य, ८ मेगापिक्सेल अल्ट्रा–वाइड र ३२ मेगापिक्सेलको शक्तिशाली फ्रन्ट क्यामेरा समावेश छ

सुरक्षा र कार्यक्षमताका दृष्टिकोणले प्रो मोडलहरू ‘रेडमी टाइटन स्ट्रक्चर’सहित निर्माण गरिएका छन्, जसले धुलो र पानीबाट बचाउन आईपी६६ देखि आईपी६९के सम्मको उच्च सुरक्षा प्रदान गर्छन्

अन्य मोडलहरूमा आईपी६५ स्तरको सुरक्षा छ। सिरिजका विभिन्न मोडलमा आवश्यकताअनुसार स्न्यापड्रागन ६ जेन ५, स्न्यापड्रागन ६एस जेन ४, स्न्यापड्रागन ६एस ४जी जेन २ र स्न्यापड्रागन ४ जेन ४ चिपसेटहरू प्रयोग गरिएका छन्

नेपाली बजारमा यी फोनहरूको मूल्य भेरियन्टअनुसार फरक-फरक तोकिएको छ। रेडमी नोट १७ को प्रारम्भिक मूल्य रु. ४२,९९९ (६GB/१२८GB) र रु. ४७,९९९ (८GB/२५६GB) रहेको छ। नोट १७ ५जी को मूल्य रु. ४७,९९९ (६GB/१२८GB) र रु. ५२,९९९ (८GB/२५६GB) तोकिएको छ

यस्तै प्रो ५जी भेरियन्ट रु. ५७,९९९ (८GB/२५६GB) र रु. ६४,९९९ (१२GB/५१२GB) मा उपलब्ध हुनेछ भने प्रो म्याक्स ५जी को मूल्य रु. ६९,९९९ (८GB/२५६GB) र रु. ७९,९९९ (१२GB/५१२GB) तोकिएको छ

रेडमी नोट १७ सिरिजका फोनहरू सेलेस्टियल पर्पल, स्काई टिल, स्काई ब्लु, साटिन ओरेन्ज र क्लाउड ब्लसलगायतका विभिन्न आकर्षक रङहरूमा उपलब्ध छन्

फोन सार्वजनिक भएको अवसरमा सेप्टेम्बरको अन्त्यसम्म प्रो सिरिज खरिद गर्ने ग्राहकलाई रु. २,४९९ मूल्य पर्ने ‘रेडमी बड्स ६ प्ले’ निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ। साथै नेपाली ग्राहकले आधिकारिक बिक्रेतामार्फत नागरिकता पेस गरी डाउन पेमेन्ट गरेपछि शून्य प्रतिशत ब्याजदरमा ईएमआई  सुविधासमेत प्राप्त गर्न सक्नेछन्


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *