युएसभी फार्माद्वारा नेपाल चिकित्सक संघको राहत अभियानलाई १ करोड ५० लाख सहयोग

डिसी नेपाल
२६ भदौ २०८३ १२:४२

काठमाडौं। नेपालमा हालै आएको बाढी तथा हिमबाढीबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै युएसभी फर्मास्युटिकल्सले नेपाल चिकित्सक संघ (एनएमए) को राहत अभियानका लागि रु १ करोड ५० लाख सहयोग उपलब्ध गराएको छ।

बाढीबाट गम्भीर रूपमा प्रभावित तथा आर्थिक रूपमा विपन्न परिवारलाई तत्काल आवश्यक राहत पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो। यस सहयोगबाट रसुवा, नुवाकोट र धादिङका करिब ३०० घरधुरीका १५०० भन्दा बढी नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।

हालैको विपद्का कारण धेरै परिवारले घर, खाद्यान्न, लत्ताकपडा र आधारभूत सामग्री गुमाएका छन्। खानेपानी, सरसफाइ, विद्युत् तथा स्वास्थ्य सेवामा कठिनाइ झेलिरहेका प्रभावितहरूलाई सामान्य जनजीवनमा फर्काउन सहयोग पुर्‍याउनु यस अभियानको मुख्य लक्ष्य रहेको छ।

चिकित्सक संघको नेतृत्वमा सञ्चालित अभियानले स्थलगत आवश्यकता पहिचान गरी प्रभावित परिवारलाई अस्थायी आवास, ओछ्यान, ब्ल्याङ्केट, स्वच्छ खानेपानी, सरसफाइ सामग्री, औषधि र सौर्य बत्ती (सोलार लाइट) उपलब्ध गराउनेछ।

युएसभी फर्मास्युटिकल्सले विपत्ति र मानवीय संकटका समयमा समुदायको साथमा उभिनु आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) भएको जनाएको छ। साथै, प्राकृतिक विपद्को सामना गर्न सरकारी निकाय, निजी क्षेत्र, स्वास्थ्य संस्था र नागरिक समाजबीच एकीकृत सहकार्य आवश्यक रहेकोमा कम्पनीले जोड दिएको छ।

कम्पनीले बाढीबाट प्रभावित सबै परिवारप्रति ऐक्यबद्धता प्रकट गर्दै आगामी दिनमा पनि पुनर्लाभ तथा पुनर्निर्माणका प्रयासमा सहयोग र सहकार्य निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *