बाढीपहिरो प्रभावितका लागि टेक्नो मोबाइलको १० लाख सहयोग
काठमाडौं। अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो प्रभावितहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि टेक्नो मोबाइल नेपालले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा १० लाख रुपैयाँ सहयोग गरेको छ।
‘टेक्नो स्ट्यान्ड्स विथ नेपाल’ अभियानअन्तर्गत कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) बहन गर्दै उक्त रकम योगदान गरेको जनाएको छ। बुधबार टेक्नो मोबाइल नेपालका महाप्रबन्धक शंकर मैनाली नेतृत्वको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो।
विपद्को घडीमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै कम्पनीले जारी गरेको वक्तव्यमा भनिएको छ, “कठिन समयमा प्रभावित नागरिक तथा समुदायसँग एकताबद्ध भएर उभिनु हाम्रो सामाजिक दायित्व हो। यो योगदान केवल आर्थिक सहयोग मात्र नभई नेपाली जनताप्रतिको हाम्रो ऐक्यबद्धता, संवेदनशीलता र जिम्मेवारीको प्रतिबिम्ब हो।”
यस सहयोगले बाढीपहिरोपछि सञ्चालन भइरहेका राहत तथा पुनर्जागरणका काममा टेवा पुग्ने विश्वास व्यक्त गर्दै टेक्नो मोबाइल नेपालले आगामी दिनमा पनि आवश्यकता अनुसार राष्ट्र र समाजका लागि सहयोगी भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment