विपद् उद्धारमा उपकरण अभावदेखि ७ सय रुपैयाँ नहुँदा गेटमै प्रसूति: संसद्‌मा सरकारको आलोचना

डिसी नेपाल
२५ भदौ २०८३ १४:२३

काठमाडौं । प्रतिनिधिसभाको बिहीबार बसेको आकस्मिक बैठकमा सांसदहरूले रसुवाको भोटेकोशी बाढीपहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतको अवस्था तथा सप्तरीस्थित अस्पतालमा घटेको गम्भीर घटनालाई लिएर सरकारको तीव्र ध्यानाकर्षण गराएका छन्।

नेपाली कांग्रेसकी सांसद गंगालक्ष्मी अवालले भोटेकोशी बाढीमा भक्तपुरका २५ जना सम्पर्कविहीन रहेको र एक जनाको मृत्यु भएको जानकारी दिँदै रसुवामा खटिएका उद्धार टोली सामग्री अभावसँग जुधिरहेको बताइन्।

टिमुरेमा उद्धारमा खटिएका भक्तपुरका अरुण सैंजुलाई उद्धृत गर्दै उनले डोरी चुँडिएको, टर्च र अक्सिजन मिटरजस्ता अत्यावश्यक उपकरणसमेत नभएकाले तत्काल ती सामग्री उपलब्ध गराउन सरकारसँग माग गरिन्।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका सांसद धनबहादुर बुढाले भोटेकोशी बाढीमा परेर डोल्पाका नागरिकहरू पनि बेपत्ता भएको बताउँदै उनीहरूको शीघ्र खोज-उद्धार र आधिकारिक सूचना परिवारलाई उपलब्ध गराउन आग्रह गरे।

त्रिशूली हाइड्रोपावरमा कार्यरत लबी शाही, धुन्चेमा कार्यरत दिनिशा शाही र डोल्पोबुद्धका थुप्नेन ल्हामु लामाको परिवार बाढीपछि सम्पर्कविहीन रहेको उनले जानकारी दिए।

यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले भोटेकोशीको क्षति ठूलो भएकाले खोज र उद्धारलाई थप तीव्र बनाउन दक्ष जनशक्ति र स्रोत-साधन बढाउनुपर्नेमा जोड दिए।

उनले भेटिएका शवहरूको तत्काल डिएनए परीक्षण गरी पहिचान गर्न, प्रभावित वडा तहसम्म नियमित र प्रमाणित सूचना पुर्‍याउन तथा जोखिमयुक्त क्षेत्रमा भविष्यमा बस्ती नबसाउन सरकारको ध्यानाकर्षण गराए।

यसैगरी, रास्वपाका सांसद खगेन्द्र कर्णले सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा पैसा अभावका कारण एक महिलाले अस्पतालबाहिरै बच्चा जन्माउनुपरेको दुःखद घटना संसद्मा उठाए।

राजविराजकी बबिता पासवानसँग तोकिएको शुल्कभन्दा ७ सय रुपैयाँ कम भएकै कारण उपचारमा आनाकानी गरिँदा अस्पतालको गेटबाहिरै प्रसूति हुनुपरेको भन्दै उनले देशको स्वास्थ्य प्रणालीमाथिमै प्रश्न उठाए र यस विषयमा स्वास्थ्यमन्त्रीको जवाफ माग गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *