बाँदरको आतंकपछि भोजपुरका किसान बेसार खेतीतर्फ आकर्षित, बाझिएका खेतबारी हराभरा बन्दै

डिसी नेपाल
२९ भदौ २०८३ ९:५२

भोजपुर। अन्नबालीमा बाँदरले क्षति पुर्‍याएर हैरानी पारेपछि भोजपुरका किसानहरू वैकल्पिक बालीका रूपमा बेसार खेतीतर्फ आकर्षित हुन थालेका छन्।

मकै, कोदो, धान र फलफूल जोगाउन मुस्किल परेका तल्लो भेग तथा जङ्गल आसपासका किसानले जमिनमुनि फल्ने बेसारलाई सुरक्षित र आम्दानीको बलियो माध्यम बनाएका छन्।

भोजपुर नगरपालिका-५ बोखिमका स्थानीय किसान नवराज फुँयालका अनुसार बेसारको गानो बाँदरले नखाने भएकाले यो बाली प्रभावित क्षेत्रका लागि उत्तम विकल्प बनेको छ। उत्पादन भएको बेसार स्थानीय बजारमै प्रति कुरुवा १०० देखि १२० रुपैयाँसम्म सहजै बिक्री भइरहेको अर्की किसान मैयानानी न्यौपानेले जानकारी दिए।

बिक्रीका लागि बजारको समस्या नरहेको र कम लगानी तथा थोरै मिहिनेतमा उत्पादन गर्न सकिने भएकाले किसानमा थप उत्साह थपिएको छ।

औषधीय गुणयुक्त रहने र लामो समयसम्म भण्डारण गर्न सकिने बेसारले बाँदरका कारण बाझिन थालेका खेतबारीलाई पुनः प्रयोगमा ल्याउन मद्दत पुर्‍याएको स्थानीय भीमप्रसाद न्यौपानेको भनाइ छ।

स्थानीय तह तथा कृषि ज्ञान केन्द्रले उन्नत बीउ, प्रविधि र प्रशोधन मेसिनको व्यवस्था गरिदिए भोजपुरमा बेसारको व्यावसायिक उत्पादन थप बढाउन सकिने किसानहरूले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *