मुस्ताङमा दुई दिने जलवायु सम्मेलन, ४२१ स्थानीय तहका जनप्रतिनिधि जोमसोममा

डिसी नेपाल
३० भदौ २०८३ ६:१८

मुस्ताङ।  हिमाली जिल्ला मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ। दुई दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गर्ने कार्यक्रम रहेको छ।

सम्मेलनमा सहभागी हुन देशभरका ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधिसहित दुई हजारभन्दा बढी अतिथि सोमबार साँझ नै मुस्ताङ आइपुगिसकेका छन्।

सातै प्रदेशका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधि तथा अतिथिहरूका लागि स्थानीय होटलहरूमा बस्ने प्रबन्ध मिलाइएको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए।

सम्मेलनलाई भव्य र व्यवस्थित बनाउन गाउँपालिकाका पाँचै वडाका गाउँ समाज, आमा समूह, युवा क्लब तथा स्थानीय सङ्घसंस्थाहरू परिचालन गरिएको छ।

गाउँपालिका उपाध्यक्ष जमुना थकालीका अनुसार सहभागीहरूका लागि बिहानको खाजा र दिउँसोको खाना सम्मेलनस्थलमै आमा समूहको टोलीले व्यवस्थापन गर्नेछ भने बेलुकीको खाना र बसाइ तोकिएका होटलहरूमा मिलाइएको छ।

सम्मेलनका अवसरमा मुस्ताङका सडक र बस्तीहरूलाई मौलिक कला, संस्कृति तथा ध्वजापतङ्गाले सजाइएको छ। भित्री तथा मुख्य सडकहरूमा सडक बत्ती जडान गरी झिलीमिली पारिनुका साथै स्वास्थ्यकर्मी, खानेपानी, इन्टरनेट, विद्युत्, सवारी पार्किङ र ट्राफिक व्यवस्थापनलाई समेत चुस्त बनाइएको छ।

जोमसोमस्थित कभर्डहलमा आयोजना हुने सम्मेलनस्थलमा जलवायु परिवर्तनको असरबारे जनचेतना फैलाउन २८ फिट उचाइको ‘रोइरहेको पृथ्वी’ को बेलुन आकृति राखिएको छ।

साथै, मुस्ताङका स्थानीय कृषि उत्पादनको प्रचारप्रसारका लागि ५० भन्दा बढी स्टलहरू समेत राखिएको कृषि शाखा अधिकृत रोशन थकालीले बताए। यो सम्मेलन जलवायु परिवर्तनको असरसम्बन्धी विशेष घोषणापत्र जारी गर्दै सकिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *