बाढीबाट बाँचे, आफन्त घाइते भए; तर गणेश रोकिएनन्, १२ दिनदेखि तुइनमा स्वयंसेवा

डिसी नेपाल
३१ भदौ २०८३ ९:४३

काठमाडौँ। विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने उदाहरण रसुवा मैलुङका गणेश नेपालीले प्रस्तुत गरेका छन्। भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट मुस्किलले जोगिएका नेपाली अहिले आफ्नै जोखिम मोलेर त्रिशूली नदीमाथि बनेको अस्थायी तुइनमा स्वयंसेवकका रूपमा खटिएका छन्।

विदुर नगरपालिका–९ स्थित सिमुटार–कोलनी जोड्ने तुइनमा उनी नेपाल रेडक्रसका स्वयंसेवकका रूपमा बाढी प्रभावित नागरिक तथा अत्यावश्यक सामग्रीलाई तुइनमार्फत वारिपारि गराउन दिनरात खटिरहेका छन्।

“बाढीमा परेर घाइते हुनुभएका दाजु काठमाडौँस्थित वीर अस्पतालको ट्रमामा उपचाररत हुनुहुन्छ। भेट्न जान पनि पाएको छैन। बाढी प्रभावितको पीडा देखेर मनले मानेन,” नेपालीले भने, “यहाँ आएर तुइन जडान गर्न स्वयंसेवक भएर सुरक्षाकर्मीलाई साथ र सहयोग गरेँ। तुइन जडान भएपछि डोरी तान्ने काममा स्वयंसेवक गरिराखेको १२ दिन बितिसक्यो।”

बाढीले सिमुटार–कोलनी जोड्ने पुल क्षणभरमै बगाएपछि कोलनीवासीको आवतजावत पूर्णरूपमा प्रभावित भएको थियो। पुल बगेपछि स्थानीयसँगको सम्पर्क टुट्नुका साथै बाढी प्रभावितको खोज तथा उद्धारमा समेत कठिनाइ भएको थियो। सुरुआती दिनमा प्रभावितलाई हेलिकप्टरमार्फत उद्धार गर्नुपरेको थियो।

बाढीअघि पुलमार्फत सात–आठ मिनेटमै पुग्न सकिने स्थानमा अहिले सात घण्टासम्म यात्रा गर्नुपर्ने अवस्था छ। यस्तो कठिन परिस्थितिमा अस्थायी तुइन स्थानीयका लागि महत्वपूर्ण आवतजावतको माध्यम बनेको छ।

नेपालीका अनुसार तुइन सञ्चालनमा आएपछि दैनिक करिब पाँच सय जनासम्मलाई वारिपारि गराउनुपर्ने अवस्था छ। बाढी प्रभावित तथा अन्य नागरिकलाई सुरक्षित रूपमा वारिपारि गराउन टोकन प्रणालीसमेत लागू गरिएको छ।

बिरामी, बाढीमा आफन्त गुमाएका परिवार, अतिप्रभावित नागरिक, महिला, बालबालिका तथा अत्यावश्यक सामग्रीलाई प्राथमिकताका साथ वारिपारि गराउने व्यवस्था गरिएको छ। “स्वयंसेवक भएर सेवा गर्न पाउँदा म खुसी छु। बाढीको पीडा सम्झन चाहन्न,” नेपालीले भने।

नेपाल रेडक्रस संरक्षण विभागका प्रमुख दिव्यराज पौडेलले बाढी प्रभावित क्षेत्रमा रेडक्रसका स्वयंसेवक अहोरात्र खटिरहेको जानकारी दिँदै गणेश नेपालीको सेवा उदाहरणीय रहेको बताए।

आफू स्वयं बाढीको पीडाबाट गुज्रिएका नेपालीले व्यक्तिगत दुःखभन्दा प्रभावित नागरिकको आवश्यकता ठूलो ठानेर जोखिमपूर्ण तुइनमा १२ दिनदेखि निरन्तर सेवा गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *