गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु संक्रमण
गण्डकी । गण्डकी प्रदेशका १० जिल्लामा गत पुस-माघदेखि हालसम्म दुई हजार ३११ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। प्रादेशिक रोग नियन्त्रण केन्द्रका अनुसार हिमाली जिल्ला मनाङमा भने अहिलेसम्म डेंगुको संक्रमण देखिएको छैन।
केन्द्रका निर्देशक मनमोहन मिश्रका अनुसार गत जुलाईपछि प्रदेशमा डेङ्गु सङ्क्रमणको दर तीव्र रूपमा बढेको हो। गत जेठ र असारमा ४१५ जनामा संक्रमण पुष्टि भएकामा साउन महिनामा त्यो सङ्ख्या ह्वात्तै बढेर एक हजार २४७ पुगेको थियो भने भदौ लागेयता थप ३८२ जनामा संक्रमण देखिएको छ।
पछिल्लो एक हप्ता (सेप्टेम्बर ७ देखि १३) भित्र मात्रै प्रदेशभर २२८ जना नयाँ बिरामी थपिएका छन्। तीमध्ये सबैभन्दा बढी बागलुङमा १७० जना, कास्कीमा २० जना, पर्वतमा १६ जना, म्याग्दीमा ७ जना, गोरखामा ६ जना, स्याङ्जामा ४ जना, तनहुँमा ३ जना र लमजुङमा २ जना रहेका छन्।
प्रदेशभरिमा बागलुङ नगरपालिका डेङ्गुबाट सबैभन्दा बढी प्रभावित बनेको छ, जहाँ पछिल्लो हप्ता मात्रै ५७ जनामा सङ्क्रमण पुष्टि भएको छ। बागलुङपछि पोखरा महानगरपालिकालगायतका सहरी क्षेत्रमा सङ्क्रमण बढी देखिएको छ।
असारदेखि कात्तिकसम्म डेङ्गुको सङ्क्रमण बढी फैलिने भएकाले जोखिम अझै कायमै रहेको निर्देशक मिश्रले बताए। डेङ्गु सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेले जमेको सफा पानीमा फुल पार्ने र यसले दिनको समयमा मात्र टोक्ने गर्दछ।
संक्रमण नियन्त्रणका लागि बागलुङ र कास्कीसहितका जिल्लाहरूमा ‘खोज र नष्ट गर’ अभियान तीव्र रूपमा सञ्चालन गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले जानकारी दिए।
समयमै रोकथाम गर्न नसके यसले प्रकोपको रूप लिन सक्ने भएकाले घर, कार्यालय तथा सार्वजनिक स्थलका खाल्डाखुल्डी, पुराना टायर, भाँडाकुँडा र ड्रममा पानी जम्न नदिन चिकित्सकहरूले आग्रह गरेका छन्। लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गु रोकथामको उत्तम उपाय हो।
साथै, लगातार बान्ता हुने, नाकबाट रगत आउने, कालो दिसा हुने वा अत्यधिक थकानजस्ता गम्भीर लक्षण देखिएमा तुरुन्तै अस्पताल पुगी विशेष निगरानीमा उपचार गराउन चिकित्सकहरूले सुझाव दिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment