भोटेकोशी बाढी व्यवस्थापनका लागि सात दिनभित्र सर्वदलीय संयन्त्र गठन गर्ने सहमति (भिडियोसहित)
डिसी नेपाल
३१ भदौ २०८३ १५:२०
काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उत्पन्न विपद् व्यवस्थापन, राहत तथा पुनर्स्थापनाका लागि सर्वदलीय संयन्त्र गठन गरिने भएको छ।
बुधबार भएको सर्वदलीय छलफलमा आगामी सात दिनभित्र सर्वदलीय संयन्त्र गठन गर्ने सहमति भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन्।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउन सर्वदलीय संयन्त्र आवश्यक रहेको बताए। उनका अनुसार बैठकमा संयन्त्र गठनका साथै भोटेकोशी बाढी घटनाबारे संसदीय समितिमार्फत छानबिन गर्ने विषयमा समेत छलफल भएको थियो।
शाहीका अनुसार बैठकमा विपद् व्यवस्थापनसँग सम्बन्धित विषयमा आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्ने क्रममा ‘सनसेट ल’ कार्यान्वयन गर्ने विषय पनि छलफलमा आएको थियो।
भदौ १० गते रसुवामा भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण जनधनसँगै सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ। बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र पुनर्स्थापनाको काम जारी छ।
Facebook Comment