एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

डिसी नेपाल
३१ भदौ २०८३ २२:१०

काठमाडौं। अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रु एक अर्ब ३४ करोड ७८ लाख ३९ हजार बराबरको अवैध हुन्डी कारोबार गरेको आरोपमा धनुषाको शहीदनगर नगरपालिका–४ का २४ वर्षीय अजयकुमार मुखियालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराले विभिन्न समयमा मलेसियालगायत विभिन्न मुलुकबाट अवैध रूपमा हुन्डी कारोबारमा सङ्लग्न भएको सूचनाका आधारमा मुखियालाई पक्राउ गरिएको जानकारी दिए।

उक्त सूचनालाई थप सूक्ष्म अनुसन्धान तथा विश्लेषण गर्ने क्रममा विभिन्न समयमा व्यक्तिगत तथा व्यावसायिक बैँक खाताको प्रयोग गरी हालसम्म उक्त रकम बराबरको अवैध हुन्डी कारोबार गरेको खुलेको ब्यूरोले जनाएको छ। धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सीआईबी र जिल्ला प्रहरी कार्यालय, धनुषाको संयुक्त प्रहरी टोलीले मुखियालाई पक्राउ गरेको प्रवक्ता जबराले बताए।

पक्राउ परेका मुखियामाथि ‘हुण्डी सम्बन्धी कारोबार गर्न नहुने’ कसुरमा अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। उक्त घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा अनुसन्धान भइरहेको प्रवक्ता जबराले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *