चामे–बेँसीसहर सडक अवरुद्ध
मनाङ। हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे–बेँसीसहर सडकमा पहिरो खस्दा सवारी आवागमन पूर्ण रुपमा ठप्प भएको छ।
नासो गाउँपालिका–३ खोत्रोमा आज ढुङ्गासहित खसेको पहिरो हटाउन नसक्दा सवारी आवतजावत ठप्प भएको हो। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले आज दिनभर पहिरो हटाउने प्रयास गर्दा पनि नसकिएको जानकारी दिए।
‘माथिबाट चट्टान बीच सडकमा खसेकाले हटाउन सम्भव भएन, नेपाली सेनालगायतका सुरक्षाकर्मीको सहयोगमा विष्फोटक पदार्थ प्रयोग गरेर सडक खुलाउने प्रयासमा छौँ’, उनले भने।
गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले चााडोभन्दा चाँडो सडक सञ्चालनमा ल्याउन आवश्यक भएको बताए। यसबाट पर्यटक बढी प्रभावित बनेका उनले बताए। पहिरो हटाएर अवरुद्ध सडक खुलाउन जिल्ला समन्वय समितिका उपप्रमुख सुरेन्द्र गुरुङसहितको टोली लागिपरेको छ।
डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका इन्जिनियर नवीन विष्टले ड्रिलिङ गरेर सडक खुलाउने काम भइरहेको बताए। अन्य ठाउँमा गएको पहिरो भने हटाइएको उनले बताए। मस्र्याङ्दी करिडोरअन्तर्गतको सडकमा ठूला सवारीसाधन वर्षायाममा गुडाउँदा भाँसिने तथा पहिराको जोखिम बढ्ने गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment