‘झिङ्गे दाउ २’ को प्रिमियरपछि सकारात्मक प्रतिक्रिया: मनोरञ्जनसँगै पारिवारिक सम्बन्धको कथा

काठमाडौं। ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्र ‘झिङ्गे दाउ २’ को प्रिमियर शोपछि चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ।

बुधबार आयोजित प्रिमियर शोमा चलचित्र हेरेपछि कलाकार, चलचित्रकर्मी तथा दर्शकले मनोरञ्जनसँगै पारिवारिक सम्बन्ध, आमा-बुबाको महत्त्व र पारिवारिक एकताको विषयलाई चलचित्रले प्रभावकारी रूपमा प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन्।

चलचित्रको प्रिमियरपछि निर्देशक देउजा आफैं पनि दर्शकको प्रतिक्रियालाई लिएर उत्साहित देखिएका छन्। उनले आफूले चलचित्र बनाउँदा आफ्नो तर्फबाट सक्दो प्रयास गरेको भए पनि आफ्नो कामलाई आफैँले पूर्ण मूल्यांकन गर्न नसक्ने बताए। चलचित्र कस्तो बनेको छ भन्ने वास्तविक मूल्यांकन दर्शकले गर्ने उनको भनाइ थियो।

“प्रिमियरकै प्रतिक्रियाले खासै मूल्यांकन गर्न सकिँदैन, तर एकदमै सकारात्मक प्रतिक्रिया पाएको छु। मेरो कामको सही मूल्याङ्कन भयो कि भन्ने आशा गरेको छु,” देउजाले भने।

उनले चलचित्र निर्माणमा आफ्नो टिमको योगदान महत्त्वपूर्ण रहेको बताए। कलाकारदेखि प्राविधिक टिमसम्म सबैले आफ्नो सोच र कल्पनालाई पर्दामा उतार्न सहयोग गरेको उनको भनाइ थियो।

देउजाले आफ्नै टिमसँग काम गर्दा आपसी समझदारी मिल्ने र एकअर्काको कुरा बुझ्न सहज हुने भएकाले लामो समयदेखि एउटै टिमसँग काम गर्दै आएको जानकारी दिए।

उनका अनुसार चलचित्रमा आँचल शर्मा र केकी अधिकारीले निर्वाह गरेका पात्र पनि कथाको मागअनुसार नै तय भएका हुन्।

“मैले सोचेका कुराहरू उहाँहरूले पर्दामा उतारिदिनुपर्ने थियो, त्यो उहाँहरूले गरिदिनुभयो। सम्पूर्ण कलाकारका साथै प्राविधिक टिमको ठूलो मिहिनेत परेको छ,” उनले भने।

‘झिङ्गे दाउ २’ ले पहिलो भागलाई मन पराएका दर्शकको अपेक्षा पूरा गर्ने उनको विश्वास छ। उनले दर्शकलाई चलचित्र हेरेर सही सुझाव दिन आग्रह पनि गरे।

“मेरो ‘झिङ्गे दाउ १’ लाई जसरी मन पराइदिनुभएको थियो, त्यसैगरी त्यही मन पराएको कारणले मैले ‘झिङ्गे दाउ २’ बनाएको हुँ। यो चलचित्रमा इच्छा, आकाङ्क्षा र मनोरञ्जन छ, यसले निराश बनाउँदैन, दोब्बर मज्जा दिन्छ,” उनले भने।

अभिनेत्री आँचल शर्माले चलचित्रमा प्रस्तुत गरिएका कतिपय पारिवारिक घटना नेपाली समाजमा अहिले पनि देखिने गरेको बताइन्। समाजमा देखिएका विभिन्न पात्र र घटनालाई आधार बनाएर आफ्नो चरित्र निर्माण र अभिनय गरेको उनले जानकारी दिइन्।

“भूमिका निर्वाह गर्दा पनि यो समाजमा देखेकै एउटा-दुईटा पात्रबाट एउटा-दुईटा कुरा जोड्दै अभिनय गरेका हौँ,” उनले भनिन्।

यस्तै, अभिनेत्री केकी अधिकारीले चलचित्रको कथा प्रस्तुत गरिएको समय र अहिलेको समय फरक भए पनि परिवारभित्रको सम्बन्ध र बुहारीको भावनामा धेरै परिवर्तन नआएको बताइन्।

उनका अनुसार चलचित्रमा देखाइएको समयको झगडा गर्ने शैली र अहिलेको शैली फरक भए पनि घरभित्र आफूलाई सबैभन्दा प्रिय बनाउन खोज्ने भाव अहिले पनि सान्दर्भिक छ।

चलचित्रमा आमाको भूमिका निर्वाह गरेकी हिउँवाला गौतमले भने ‘झिङ्गे दाउ २’ लाई दर्शकको आँखाबाट हेर्दा सन्देशमूलक चलचित्र लागेको बताइन्।

उनले ‘झिङ्गे दाउ १’ मा जस्तै दोस्रो भागमा पनि परिवारमा आमा-बुबाको भूमिका र अभिभावकलाई दिनुपर्ने सम्मानको विषयलाई प्राथमिकता दिइएको बताइन्।

गौतमले चलचित्रका केही दृश्यमा आफ्नी स्वर्गीय आमालाई सम्झिएको पनि बताइन्। आफू छायाङ्कन (सुटिङ) बाट घर फर्किँदा आमाको काखमा बसेर आराम गरेको र आमाले ‘भोक लाग्यो होला, थकाइ लाग्यो होला’ भनेर गर्ने माया सम्झिएको उनको भनाइ थियो।

गौतमले चलचित्रले परिवारभित्र सुख-शान्ति कायम राख्न र अभिभावकलाई सम्मान गर्न सन्देश दिने बताइन्। श्रीमती र आमा-बुबाबीच दोधारमा पर्ने पुरुषले दुवै पक्षलाई सन्तुलनमा राख्न सके परिवार स्वर्गजस्तै बन्न सक्ने उनको भनाइ थियो।

त्यस्तै, कलाकार महेश त्रिपाठीले चलचित्रमा देखाइएको पारिवारिक परिवेश अहिले पनि नेपाली समाजमा कुनै न कुनै रूपमा रहेको बताए। समय, परिवेश र परिस्थिति परिवर्तन भए पनि त्यसका केही स्वरूप अझै परिवारभित्र रहेको उनको भनाइ थियो।

कलाकार किरण केसीले निर्देशक देउजाले संवेदनशील विषयलाई मनोरञ्जनात्मक ढङ्गले प्रस्तुत गरेको प्रतिक्रिया दिए। उनले चलचित्रका सुरुवाती दृश्यहरू रमाइलो रहेको र दोस्रो भागमा आमाको वेदना तथा छोराहरूको भावनालाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको बताए।

केसीले विशेषगरी हिउँवाला गौतमको अभिनयको प्रशंसा गर्दै उनको अभिनय ‘उत्कृष्ट’ (आउटस्ट्यान्डिङ) रहेको प्रतिक्रिया दिए। चलचित्रले समग्रमा मनोरञ्जन दिने उनको भनाइ थियो।

त्यस्तै, कलाकार जयकिशन बस्नेतले ‘झिङ्गे दाउ २’ लाई मनोरञ्जनपूर्ण चलचित्रका रूपमा वर्णन गरे। उनले चलचित्र हेर्दा हाँसोसँगै अन्त्यतिर भावुक बनाउने अवस्था आउने बताए।

“फिल्म हेरुञ्जेल एकदमै मनोरञ्जनले भरिपूर्ण छ। हाँस्यौँ, पेट दुख्ने गरी हाँस्यौँ। निस्किने बेलामा भावुक पनि भयौँ,” बस्नेतले भने।

उनले आँचल शर्मा र केकी अधिकारीबीचका झगडाका दृश्यहरू विशेष रूपमा रमाइला लागेको बताए। साथै महेश त्रिपाठी, कुशल विष्ट, सरोज खनाल, आर्यन सिग्देल, सङ्गम भण्डारीलगायत कलाकारको अभिनय पनि राम्रो रहेको उनको प्रतिक्रिया थियो।

बस्नेतले निर्देशक देउजाको कामको प्रशंसा गर्दै निर्देशक चलचित्रको ‘कप्तान’ भएको र देउजाले राम्रो चलचित्र निर्माण गरेको बताए।

प्रिमियरमा सहभागी दर्शक अञ्जली शाक्यले चलचित्र मनोरञ्जनात्मक र भावनात्मक दुवै रहेको प्रतिक्रिया दिइन्। हास्य र भावनात्मक दृश्यको संयोजन आफूलाई मन परेको उनले बताइन्। विशेषगरी दाजुभाइबीचको झगडापछि हुने मिलनको दृश्यले आफूलाई प्रभावित गरेको उनको भनाइ थियो।

उनले नयाँ पुस्ता स्वतन्त्र हुन चाहने र पुरानो पुस्ता आफ्नो परम्परा तथा परिवारलाई समातेर राख्न चाहने अवस्थाबीच दुवै पक्षबीच सन्तुलन आवश्यक रहेको बताइन्।

‘झिङ्गे दाउ २’ मा पारिवारिक सम्बन्धसँगै देउरानी-जेठानीबीचको सम्बन्ध, दाजुभाइको सम्बन्ध, आमा-छोराबीचको भावनात्मक सम्बन्ध र पारिवारिक एकताको विषयलाई कथाको मुख्य आधार बनाइएको छ। चलचित्रले सुरुवातमा हास्य तथा मनोरञ्जन प्रस्तुत गर्दै अन्त्यतिर पारिवारिक भावनालाई जोड दिएको प्रिमियरपछि आएका प्रतिक्रियाले देखाएका छन्।

निर्देशक देउजाले भने चलचित्रको अन्तिम मूल्याङ्कन दर्शककै हातमा रहेको बताएका छन्। प्रिमियरको प्रतिक्रियाबाट उत्साहित भए पनि व्यावसायिक सफलता र दर्शकको वास्तविक प्रतिक्रिया चलचित्र प्रदर्शनपछि मात्रै थाहा हुने उनको भनाइ छ।

“मैले त मिहिनेत गर्ने हो, प्रयास गर्ने हो। पात्रहरूले पनि राम्रो गरेका छन्, सबैले राम्रो गरेका छन्। त्यही राम्रो भएर त चलचित्र राम्रो भएको होला,” उनले भने। ‘झिङ्गे दाउ २’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउँदै छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *