देउवा पक्ष छोडेर सानेपा पुगे ५० भन्दा बढी नेता (तस्बिरहरू)

डिसी नेपाल
१ असोज २०८३ १५:३६

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहीबार केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले डाकेको बैठकमा यसअघि असन्तुष्ट रहेका पूर्वसभापति शेरबहादुर देउवा पक्षका ५० भन्दा बढी प्रभावशाली नेताहरू सहभागी भएका छन्।

विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसम्पादन समितिले १४ औं महाधिवेशनका केन्द्रीय सदस्यहरूलाई विशेष महाधिवेशनका सदस्य सरह समायोजन गर्ने निर्णय गरेपछि नेताहरू सानेपा फर्किएका हुन्।

यस सहमतिसँगै बेग्लै महाधिवेशनको तयारीमा जुटेको देउवा समूह ठूलो दबाबमा परेको छ भने कांग्रेस आजै समायोजन प्रक्रिया टुङ्ग्याएर भोलिदेखि १५ औं महाधिवेशनको तयारीमा होमिने भएको छ।

देउवा पक्षका नेताहरूलाई बैठकमा ल्याउने वातावरण बनाउन नेता उदयशमशेर राणा र योगेन्द्र चौधरी सक्रिय भएका थिए। सानेपा फर्कनेमा पूर्व-संस्थापन पक्षका बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, महालक्ष्मी उपाध्याय (डिना), मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, नैनसिंह महर, श्याम घिमिरे, किशोरसिंह राठोर, सुरेन्द्रराज पाण्डे, महेन्द्र यादव, इन्द्रबहादुर बानियाँ, जीवनबहादुर शाही, सुशीला थिङ र गोविन्द भट्टराई रहेका छन्।

त्यस्तै देवेन्द्रराज कँडेल, राजीवविक्रम शाह, मदनकृष्ण श्रेष्ठ, राधा घले, जिपछिरिङ लामा, ईश्वरी न्यौपाने, सरस्वती तिवारी, शान्ति बिक परियार र गणेश लामा पनि सानेपा बैठकमा पुगेका छन्। यसैगरी डा. शेखर कोइराला समूहकी नेतृ किरण यादवसहितका नेताहरू पनि बैठकमा सहभागी छन्। सानेपास्थित केन्द्रीय कार्यालयमा नेताहरू पुग्ने क्रम अझै जारी रहेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *