देउवालाई गगनको आग्रह- पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गरिदिनुस्
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी असोज १६ गते हुने पार्टीको महाधिवेशनको उद्घाटन गरिदिन पूर्वसभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
बिहीबार आयोजित पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले देउवाले महाधिवेशनको उद्घाटन गरिदिनु आफूहरूका लागि सम्मानको विषय हुने बताएका हुन्।
बैठकलाई सम्बोधन गर्दै थापाले पार्टी विधानअनुसार देउवा अब पुनः सभापति बन्न नमिल्ने स्मरणसमेत गराए। ‘पार्टीको विधानले पनि उहाँ अब सभापति बन्ने होइन भन्छ,’ थापाले भने, ‘मेरो आदरणीय नेता पूर्वसभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु, अधिवेशनको दिनमा उहाँले उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति सम्मानको विषय हुन्छ।’
सभापति थापाले असोज १६ गते खुलामञ्चमा महाधिवेशनको उद्घाटन हुने र असोज ३ र ४ गते वडा अधिवेशनबाट प्रक्रिया सुरु हुने जानकारी दिए। त्यसपछि नगर, जिल्ला र प्रदेशका अधिवेशनहरू क्रमशः सम्पन्न गर्दै लगिने उनको भनाइ थियो। पार्टीको एकता जोगाउन सबै एकजुट हुनुपर्नेमा उनले जोड दिए।
राजनीतिक संवादका क्रममा भएका तिखा टिप्पणीहरूलाई व्यक्तिगत रूपमा नलिन पनि थापाले सबै नेता-कार्यकर्तालाई आग्रह गरे। ‘मैले बोल्दै गर्दा कसैका बारेमा तिखो टिप्पणी गरेको होला, कसैले मेरो बारेमा गरेको होला। तर, हामीले त्यसलाई कहिल्यै व्यक्तिगत रूपमा लिनु हुँदैन,’ उनले भने।
नेपाली कांग्रेसलाई एउटा परिवारको रूपमा चित्रण गर्दै थापाले थपे, ‘हाम्रो पार्टी दाइभाइको परिवार हो। एउटै परिवारमा सँगै बस्दा कहिलेकाहीँ ठेस लाग्नु सामान्य कुरा हो। यी सामान्य विषयलाई मिलाउँदै, वातावरण सौहार्द बनाएर छलफल गर्दै अगाडि बढ्नुपर्छ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment