मेलम्चीका बाढीपीडित र भेन्डरका माग तत्काल सम्बोधन गर्न सांसद दुलालको आग्रह
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित स्थानीय भेन्डर तथा बाढीपीडितहरूले राखेका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रभावित भेन्डरहरूको संघर्ष समितिले आयोजना स्थलमा गाडी तथा कर्मचारी प्रवेशमा रोक लगाउने गरी आन्दोलनको घोषणा गरेकाले आयोजनाको काम ठप्प हुनसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए।
सांसद दुलालका अनुसार मेलम्ची बाढीबाट प्रभावित स्थानीय र भेन्डरहरूले यसअघि पनि आयोजनाको मुहानमै पुगेर पानी पथान्तरण रोक्दै सरकारसँग विभिन्न चरणमा सहमति गर्दै आएका थिए।
बाढीपीडित संघर्ष समितिले प्रभावित क्षेत्रको पुनर्निर्माण, सडक पूर्वाधार निर्माण र नदी कटानबाट क्षति पुगेका क्षेत्रको दीर्घकालीन संरक्षणलाई प्रमुख माग बनाएका छन् भने स्थानीय भेन्डरहरूले सरकारबाट पाउनुपर्ने बक्यौता रकम भुक्तानीको माग गरिरहेका छन्।
समस्याको स्थायी समाधानका लागि सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड दिँदै सांसद दुलालले मेलम्चीदेखि हेलम्बु हुँदै मेलम्ची हेडवक्र्ससम्म तथा मेलम्चीदेखि पाँचपोखरी-भोताङसम्मको सडक निर्माणका लागि बहुवर्षीय ठेक्का प्रक्रिया अविलम्ब अघि बढाउन माग गरे।
साथै, मेलम्ची र इन्द्रावती दुवै नदीको तटीय क्षेत्र संरक्षणका लागि विशेष कार्यक्रम ल्याउन र स्थानीय भेन्डरहरूसँग विगतमा गरिएका सहमति तत्काल कार्यान्वयन गर्न उनले सरकारको ध्यानाकर्षण गराए।
पीडितका माग समयमै सम्बोधन नगरिँदा उनीहरू निरन्तर मारमा परिरहने र त्यसैका कारण काठमाडौंमा हुने पानी पथान्तरणमा समेत बारम्बार अवरोध सिर्जना भइरहने उनको भनाइ थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment