निजी क्षेत्रलाई संरक्षण र नियमन गर्नु राज्यको दायित्व: सभामुख अर्याल
काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले देशको समग्र समृद्धिका लागि राज्यले निजी क्षेत्रलाई संरक्षण गर्दै लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।
नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले निजी क्षेत्रले ठूलो जोखिम मोलेर लगानी गरिरहेको उल्लेख गरे। उनले राज्यलाई निजी क्षेत्रको लगानीमा करिब २८ देखि ३० प्रतिशतसम्मको ‘बिनालगानीको साझेदार’का रूपमा चित्रण गरे।
‘राज्यको मुख्य काम स्पष्ट नीति बनाउने, निजी क्षेत्रको लगानी सुरक्षा गर्ने र आवश्यक नियमन गर्ने हो,’ सम्बोधनका क्रममा उनले भने, ‘विगतका राजनीतिक घटनाक्रमलाई गाली गरेर समय खेर फाल्नुभन्दा अब विषयवस्तुमै केन्द्रित भएर परिणाममुखी काम गर्नुपर्छ।’
सभामुख अर्यालले नेपाली युवाहरूलाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनुपर्ने धारणा राखे। उच्च अध्ययन र अनुसन्धानका लागि बाहेक सामान्य घरायसी खर्च, छोराछोरीको पढाइ र स्वास्थ्य उपचारका लागि मात्रै विदेशिनुपर्ने स्थिति दुखद् भएको उनको भनाइ थियो।
विगत ३० वर्षदेखि आफू स्वदेशमै रोजगारी र लगानीका क्षेत्रमा सक्रिय रहेको स्मरण गर्दै उनले उद्योगी-व्यवसायीले काम गर्दा ‘देशमा सरकार वा राज्यको उपस्थिति छ कि छैन?’ भन्ने अनुभूति गर्न नपर्ने वातावरण बन्नुपर्ने बताए।
यसैगरी, नेपालका ग्रामीण क्षेत्रहरू तीव्र रूपमा सहरीकरणतर्फ उन्मुख भइरहेको र ८० प्रतिशत घरपरिवारमा रेमिट्यान्स पुग्ने गरेको तथ्यांक प्रस्तुत गर्दै उनले उक्त पुँजीलाई उत्पादनशील तथा पूर्वाधार निर्माणको क्षेत्रमा उपयोग गर्न आग्रह गररे।
विश्वका ठूला सहरमा नयाँ संरचना बनाउन पुराना भवन भत्काउनुपर्ने स्थिति रहे पनि नेपालमा व्यवस्थित सहरीकरण र विकासका प्रशस्त सम्भावना बाँकी नै रहेको उनको भनाइ थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment