थोत्रा गाडीको कालो धुवाँले प्रदूषण बढ्यो, ५० हजार जरिवाना खोइ?: आशिका तामाङ

डिसी नेपाल
५ असोज २०८३ १४:०८

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले काठमाडौँ उपत्यकामा थोत्रा तथा पुराना सवारीसाधनबाट निस्कने कालो धुवाँले वायु प्रदूषण बढाएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद तामाङले काठमाडौँ उपत्यकामा सवारीसाधनको कालो धुवाँका कारण नागरिकहरू निसास्सिनुपर्ने बाध्यता रहेको बताइन्।

“आकाशमा सेतो मुस्लो बादल दौडिँदै गर्दा हामी जमिनमा कालो मुस्लो गाडीको धुवाँबाट निसास्सिएका छौं,” उनले भनिन्।

कालो धुवाँ फाल्ने सवारीसाधनलाई गरिने जरिवाना बढाउनुपर्ने विषयमा आफूले तीन महिनाअघि नै पूर्वाधार विकास मन्त्रालयमा ध्यानाकर्षण गराएको प्रसङ्ग उल्लेख गर्दै उनले मन्त्रीको प्रतिबद्धता कार्यान्वयन नभएकोमा असन्तुष्टि जनाइन्। “मन्त्रीज्यूले कालो धुवाँ फाल्ने गाडीलाई ५०० रुपैयाँ जरिवानाबाट बढाएर ५० हजार तोक्छु भन्नुभएको थियो। तर कार्यान्वयन भने शून्य छ,” उनले भनिन्।

सरकारले नयाँ नेतृत्व पाए पनि सडकमा चल्ने थोत्रा सवारीसाधनका कारण स्वच्छ हावामा सास फेर्न पाउने नागरिकको मौलिक अधिकार खोसिएको उनको भनाइ थियो।

उनले प्रश्न गर्दै भनिन्, “हामीलाई देश हाँक्ने चालक चाहिँ नयाँ नेता र मन्त्री, तर गाडी चल्ने इन्जिन चाहिँ उही थोत्रा र १०० वर्ष पुराना भएपछि जनताले कसरी स्वच्छ हावामा सास फेर्छन्?”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *