बाढी प्रभावितमा जटिल स्वास्थ्य समस्या, राज्यले अझै धेरै काम गर्न बाँकी: प्रसुना कँडेल

डिसी नेपाल
५ असोज २०८३ १३:२३

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) की सचिव तथा ग्लोबल हेल्थ कमिटीकी सहअध्यक्ष प्रसुना कँडेलले बाढी तथा विपद्पछि नुवाकोट, रसुवा र धादिङका प्रभावित क्षेत्रका नागरिकमा शारीरिकसँगै गम्भीर मानसिक स्वास्थ्य समस्या बढेको बताएकी छन्।

मेडिकल टिमको नेतृत्व गर्दै प्रभावित क्षेत्रमा पुगेर स्वास्थ्य सेवा प्रदान गरेकी कँडेलले विपद्पछि प्रभावित नागरिकमा एक्युट स्ट्रेस (अचानक हुने तनाव), निद्रा नलाग्ने, छालासम्बन्धी सङ्क्रमण, श्वासप्रश्वासमा समस्या, झाडापखाला, सिजनल फ्लु तथा दीर्घरोगहरू थप जटिल बनेको पाइएको जानकारी दिइन्।

एनआरएनएको मेडिकल टिमको नेतृत्व गर्दै डाक्टर, नर्स तथा मनोसामाजिक परामर्शदाता (साइकोसोसियल काउन्सिलर) सहितको टोली लिएर नुवाकोट पुगेकी कँडेलले प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिएको बताइन्।

उनका अनुसार नुवाकोटमा सुरुमा सातवटा होल्डिङ सेन्टरमा स्वास्थ्य सेवा प्रदान गरिएको थियो। तर, विपद्को समयमा राहत तथा स्वास्थ्य टोलीलाई तत्काल प्रभावित क्षेत्रमा पुगेर काम गर्न प्रक्रियागत झन्झट देखिएको उनको अनुभव छ।

उनले भनिन्, “त्रिशूली बजारभन्दा माथि त्रिशूली अस्पताल नजिकैको एउटा विद्यालयमा होल्डिङ सेन्टर थियो, पहिलो दिन हामी त्यहाँ गयौँ। त्यहाँको अवस्था शब्दमा व्यक्त गर्न कठिन छ। कसैको बुवा-आमा हुनुहुन्न, कसैको श्रीमान् हुनुहुन्न भने कसैको श्रीमती हुनुहुन्न। सबै परिवारहरू एकदमै क्षतविक्षत भएको अवस्थामा पायौँ।”

कँडेलका अनुसार आफूहरू स्वास्थ्य उपचारका लागि पुगे पनि सुरुमा प्रभावित परिवारहरूको प्राथमिकता राहत सामग्रीमा बढी केन्द्रित थियो। उपचारका क्रममा भने प्रभावितहरूमा मानसिक स्वास्थ्यको समस्या गम्भीर देखिएको उनले बताइन्।

उनले अगाडि भनिन्, “विशेष गरी एक्युट स्ट्रेस र ‘शक’ को समस्या धेरै देखियो। उहाँहरूले आफ्ना भावनाहरू (इमोसन) व्यक्त तथा सम्हाल्न (प्रोसेस गर्न) सक्नुभएको थिएन, आफूलाई के भइरहेको छ भन्ने नै थाहा थिएन। उहाँहरूले बाढी आएको वा उर्लेर आएको दृश्य मात्र बयान गरिरहनुभएको थियो।”

विपद्पछि धेरै प्रभावितमा निद्रा नलाग्ने समस्या देखिएको उनले बताइन्। त्यसै गरी बाढीले बगाएर ल्याएको फोहोर तथा दूषित वातावरणका कारण छालामा डाबर आउने (र्‍यास), आँखामा समस्या, श्वासप्रश्वासमा कठिनाइ र सुक्खा खोकी देखिएको उनको भनाइ छ।

दीर्घरोगीहरू थप समस्यामा

कँडेलले विपद्का कारण दीर्घरोगीहरू थप समस्यामा परेको बताइन्। बाढीले नियमित सेवन गरिरहेका औषधि, स्वास्थ्यसम्बन्धी कागजात तथा अन्य सामग्री बगाएपछि कतिपय बिरामीले आफूले सेवन गरिरहेको औषधिसमेत पहिचान गर्न नसक्ने अवस्था रहेको उनले बताइन्।

उनका अनुसार मुटुरोग, दम, बाथ (आर्थराइटिस), क्यान्सर तथा मिर्गौलासम्बन्धी समस्या भएका बिरामीको स्वास्थ्य अवस्था थप बिग्रिएको थियो। “हामीले ‘ब्लड सुगर’ जाँच गर्दा एकदमै नाजुक अवस्था पायौँ। औषधि नभएका कारण आफ्नो साबिकको स्वास्थ्य अवस्था (एग्जिस्टिङ मेडिकल कन्डिसन) नै थप जटिल (एग्रिभेट) भएको पनि देख्यौँ,” उनले भनिन्।

कँडेलले प्रभावित बालबालिकामा झाडापखाला, आँखा र छालाको समस्या तथा जलवियोजन (डिहाइड्रेसन) देखिएको बताइन्। पछिल्लो समय रसुवामा भने सिजनल फ्लु, ज्वरो, शरीर दुख्ने, टाउको दुख्ने र सुक्खा खोकीलगायतका समस्या देखिएको उनले जानकारी दिइन्।

मानसिक स्वास्थ्यमा पनि गम्भीर असर

वरिष्ठ नर्ससमेत रहेकी कँडेलका अनुसार विपद्को प्रत्यक्ष असरबाट प्रभावित नागरिकमा ‘पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर’ (पीटीएसडी) को समस्या पनि देखिएको छ।

उनले रसुवा र नुवाकोटमा पीटीएसडीको समस्या तुलनात्मक रूपमा बढी देखिएको बताइन्। स्थानीय गैरसरकारी संस्था (एनजीओ) तथा मनोसामाजिक परामर्शदाताहरूले मानसिक स्वास्थ्यका क्षेत्रमा काम सुरु गरे पनि यसमा थप दीर्घकालीन कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ।

अब पुनर्निर्माण र पुनस्र्थापनामा ध्यान दिनुपर्ने

नुवाकोटमा आधारभूत राहत सामग्री पर्याप्त मात्रामा पुगेको आफूले पाएको उनले बताइन्। दाल, चामल, कपडालगायतका सामग्री प्रभावित क्षेत्रमा पुगेको भन्दै अब राहतभन्दा पनि पुनर्निर्माण र पुनस्र्थापनामा ध्यान दिनुपर्ने उनको भनाइ छ।

उनले भनिन्, “अब त्यहाँ राहतभन्दा पनि पुनर्निर्माण (रिकन्स्ट्रक्सन) र पुनस्र्थापना (रिह्याबिलिटेसन) मा ध्यान दिनुपर्छ। सामूहिक आवास (कम्युनिटी हाउजिङ) उपलब्ध गराउने हो कि वा त्यहाँबाट स्थानान्तरण गरेर अन्यत्र लैजाने हो, त्यसबारे सोच्नुपर्ने देखिन्छ।”

रसुवाका केही दुर्गम क्षेत्रमा भने पहुँच कठिन भएकाले राहत तथा आवश्यक सामग्री पुर्‍याउन अझै चुनौती रहेको भन्दै विशेष गरी रसुवाको उत्तरगया गाउँपालिकाका केही क्षेत्रमा हेलिकप्टरबाट सामग्री लैजानुपर्ने अवस्था रहेको उनले बताइन्।

आपत्कालीन अवस्थामा प्रक्रियागत झन्झट कम गर्नुपर्ने

कँडेलले आपत्कालीन अवस्थामा राहत तथा स्वास्थ्य टोली परिचालन गर्दा प्रक्रियागत झन्झटले केही ढिलाइ हुने गरेको अनुभव सुनाइन्। उनका अनुसार सामान्य अवस्थामा विवरण सङ्कलन, समन्वय र स्रोत व्यवस्थापनका लागि स्थानीय तहको अनुमति र ‘एकद्वार प्रणाली’ (वान डोर पोलिसी) उपयोगी भए पनि आपत्कालीन अवस्थामा तत्काल सेवा प्रदान गर्न स्थानीय तहलाई केही लचकता दिनुपर्ने आवश्यकता छ।

करिब ७ देखि ८ सय बिरामीको स्वास्थ्य परीक्षण

कलाकारिता र समाजसेवामा पनि सक्रिय कँडेलले एनआरएनएको टोलीले नुवाकोट, धादिङ र रसुवामा गरी ठूलो सङ्ख्यामा प्रभावितहरूको स्वास्थ्य परीक्षण गरेको जानकारी दिइन्।

उनका अनुसार धादिङको गल्छीमा मात्रै करिब ३७५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो भने नुवाकोट र रसुवामा गरी करिब ७ सयदेखि ८ सय बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो।

उनले नुवाकोटमा विदुर, तुप्चे तथा किस्पाङका केही क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गरिएको र रसुवामा चार दिनसम्म स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिइन्।

कँडेलले काठमाडौँ केन्द्रित स्वास्थ्य प्रणालीले मात्रै देशको स्वास्थ्य आवश्यकता पूरा गर्न नसक्ने बताइन्। दुर्गम तथा प्रभावित क्षेत्रमा चिकित्सक र नर्सको अभाव रहेको भन्दै त्यहाँ स्वास्थ्यकर्मी टिकाइराख्न विशेष सुविधा तथा प्रोत्साहन दिइनुपर्ने उनको भनाइ छ।

रसुवामा स्वास्थ्यकर्मीको समेत अभाव रहेको उल्लेख गर्दै उनले त्यहाँ नर्स, अनमी, सीएमए, ल्याब असिस्टेन्ट लगायतका सीमित जनशक्तिबाट स्वास्थ्य सेवा सञ्चालन भइरहेको बताइन्। उनले दुर्गम क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरूलाई अतिरिक्त प्रोत्साहन (इन्सेन्टिभ), सुरक्षा तथा आवश्यक तालिम उपलब्ध गराउनुपर्नेमा जोड दिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *