राष्ट्रसंघीय महासभाका लागि न्युयोर्कमा जुट्दै विश्वनेता, जलवायु मुद्दा र नेपालको उपस्थिति चासोको केन्द्रमा
न्युयोर्क (अमेरिका)। आइतबार बिहान न्युयोर्कको मौसममा अचानक परिवर्तन आयो, बिहानैदेखि सिमसिम पानी पर्न थाल्यो। यतिखेर यहाँको मौसम हल्का चिसो हुँदै गएको छ।
तर, यहाँ मंगलबारदेखि संयुक्त राष्ट्रसंघको महासभामा उच्चस्तरीय राजनीतिक सम्बोधन सुरु हुने भएकाले राजनीतिक एवं कूटनीतिक माहोल भने तात्दै छ। उक्त सम्मेलनमा १३० देशका सरकार प्रमुखले सम्बोधन गर्ने राष्ट्रसंघका प्रवक्ताले यसअघि नै जानकारी दिइसकेका छन्।
यतिखेर न्युयोर्क सहरका अधिकांश होटलहरू भरिभराउ छन्। होटलका परिसर तथा वरपरसमेत महासभामा सहभागी हुन आएका विभिन्न देशका प्रतिनिधिहरूको चहलपहल देखिन्छ।
विभिन्न देशका र अमेरिकाकै पनि अन्यत्र ठाउँबाट आएका मिडियाकर्मीहरूको पनि यतिखेर यहाँ भिडभाड देखिन्छ। राष्ट्रसंघको महासभाको समाचार संकलनका लागि उनीहरू खटिएर आएका छन् र आफ्ना काम सुरु गरिसकेका छन्।
प्राप्त समाचारअनुसार सोमबार नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वासिङ्टन डिसीबाट न्युयोर्क आइपुग्ने कार्यतालिका रहेको छ। यसै गरी इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलगायतका नेताहरू न्युयोर्क आइपुग्दैछन्।
विश्वभरिका शासकदेखि प्रशासकसम्म, अभियन्तादेखि पत्रकारसम्म अमेरिकाको वित्तीय राजधानी रहेको न्युयोर्कमा आगामी १० दिनसम्म खचाखच रूपमा भरिनेछन्।
विदेशी विशिष्ट पाहुनाहरू र त्यसमाथि पनि सरकार प्रमुखहरूको बसाइ यही एक माइलभित्र रहेका सुविधासम्पन्न र विश्वकै महँगा होटलहरूमा रहने गरेको छ।
तीमध्ये मिलेनियम हिल्टन न्युयोर्क वान युएन प्लाजा, द वेस्टिन न्युयोर्क ग्रान्ड सेन्ट्रल, वाल्डोर्फ एस्टोरिया न्युयोर्क, हायात ग्रान्ड सेन्ट्रललगायतका होटलहरूमा बुकिङका लागि बन्द गरिएको छ। यसअघि नै बुकिङ भइसकेका वा कतिपय मिसनहरूले (राष्ट्रसङ्घका लागि दूतावास) अग्रिम बुकिङ गरिसकेका छन्।
यतिखेर ती होटलका कर्मचारीहरूलाई भ्याइनभ्याइ रहेको देखिएको छ। उनीहरू पनि पाहुनाहरूको सहयोगका लागि तत्परताका साथ लागिपरेका देखिन्छन्।
उनीहरू कुनै पनि पाहुनाका लागि सहयोग गर्न उत्तिकै तयारी अवस्थामा रहेका छन्। त्यसो त न्युयोर्कको पर्यटन सिजन ग्रिष्मकाल (समर) भए पनि सेप्टेम्बरदेखि डिसेम्बरसम्म निकै चहलपहल देखिन्छ।
अहिले राष्ट्रसंघको मुख्यालयवरिपरि पैदल हिँड्न बन्द गरिएको छ भने न्युयोर्क पुलिसले ठूलो सङ्ख्यामा क्याडेट परिचालन गरिसकेको छ। यहाँ वरपर भारी संख्यामा ब्यारियरहरू राखिएको छ।
उच्चस्तरीय सप्ताह भएकाले कारगेड, स्कर्टिङ गर्नेदेखि पाहुनाहरूलाई होटल र विमानस्थलसम्म पुर्याउन कतिपय बाटोहरू एकतर्फी आवागमन र कतिपय पूर्ण रूपमा बन्द गरिएको छ। राष्ट्रसंघले नै आगन्तुकहरू (भिजिटर्स) का लागि अक्टोबर १२ सम्मका लागि प्रवेश बन्द गरेको छ।
यहाँ गाडी आवागमनका लागि बाटोहरू बन्द भए पनि सर्वसाधारणका लागि भने भूमिगत रूपमा चल्ने रेलवे प्रणाली (सबवे) भएकाले आफ्ना काममा आवतजावत गर्न गाह्रो हुँदैन।
मुख्य रूपमा मिड म्यानहटन, युनाइटेड नेसन्स हेडक्वार्टरलगायतका सडक बन्द गरेर सार्वजनिक कार्यक्रमहरूको आयोजना गर्न पनि रोक लगाइएको छ। न्युयोर्क सिटीकी पुलिस कमिसनर जेसिका टिसले संवाददाताहरूसँग कुरा गर्दै न्युयोर्क पुलिस डिपार्टमेन्ट पूर्ण रूपमा तयार र सतर्क रहेको बताइन्।
न्युयोर्कको एक स्थानीय होटलमा कार्यरत समिर पाँडेका अनुसार यहाँका होटलहरूमा सबैभन्दा व्यस्त सिजन सेप्टेम्बर नै हो, तर उनीहरूलाई महासभामा भाग लिन आउनेहरूको विषयमा विशेष भनेर भनिएको हुँदैन।
उनले यो समयमा होटलहरूको उच्च दरको बुकिङ भएकाले मूल्य पनि महँगो पर्ने बताए। उनका अनुसार तीन महिनाअगाडि नै बुकिङ गरेको खण्डमा किफायती मूल्यमा होटल प्राप्त गर्न सकिन्छ।
म्यानहटनमै खुद्रा पसल चलाएर बसेका ओमप्रकाश खण्डेवालले यो समयमा उपहारका सामानहरूको व्यापार बढी हुने बताए। उनले विगत एक दशकमा सेप्टेम्बर महिनामा जहिले पनि व्यापार बढी हुने तथ्यांक आफूसँग रहेको जानकारी दिए।
न्युयोर्कमै बसेर उबर चलाउँदै आएका तिलक गुरुङले यो सिजनमा धेरै स्थानमा अवरोध हुने भएकाले छोटो यात्रालाई पनि लामो समय लाग्ने र अन्तिम समयमा रुट परिवर्तन गराइदिने गरेकाले हैरानी हुने बताए। गुरुङका अनुसार यो समयमा सबवे (रेल) बाट यात्रा गर्दा धेरै सजिलो र किफायती हुन्छ।
संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा जारी महासभा आगामी २९ सेप्टेम्बरसम्म जारी रहनेछ। यसपटकको महासभाको “विश्वासको पुनःस्थापना, रूपान्तरणको व्यवस्थापन: सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्रसंघ” भन्ने नारा रहेको छ।
नेपालको तयारी
न्युयोर्कस्थित नेपालको संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोगका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले महासभाको ८१औं सेसनलाई २४ सेप्टेम्बरमा सम्बोधन गर्नेछन्।
यस सम्बोधनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ। यसै गरी परराष्ट्रमन्त्री शिशिर खनाल सोमबार महासभामा भाग लिनका लागि न्युयोर्क आइपुग्नेछन्।
भोटेकोशी बाढीका कारण नेपालले निकै ठूलो क्षति व्यहोर्नुपरेकाले यसपटकको महासभामा नेपालमाथि नै विश्वको ध्यान पुग्ने देखिएको छ। त्यसैले पनि यो महासभामा नेपालको सहभागिता र उपस्थिति महत्त्वपूर्ण रहेको छ।
महासभाको एक मुख्य एजेन्डा नै जलवायु परिवर्तन हो। यसलाई नेपालले मुख्य रूपमा प्रभावित देशको उदाहरणसहित आफ्नो आवाजलाई बुलन्द बनाउन सक्नेछ।
एकातिर विश्व जगत्ले समुद्रको सतह बढ्ने र त्यसले मानवीय, ऊर्जा र पूर्वाधारको क्षति बढाउने भन्दै चिन्ता व्यक्त गरिरहेका छन्।
अर्कातर्फ विश्वका उच्च शिखरहरूमध्ये नेपालका आठ शिखर पग्लिँदै गएर अन्ततः समुद्र सतह वृद्धि नै हुनेछ। त्यसैले नेपालले आयोजना गर्ने ‘सगरमाथा टु द सी लेभल’ भन्ने नाराका साथ आयोजना गरिने ‘साइडलाइन इभेन्ट’ महत्त्वपूर्ण हुने नै छ।
त्यसमाथि नेपालले हरित गृह ग्याँस उत्सर्जनमा कम योगदान तर क्षति बढी व्यहोर्नुपरेकाले हानि-नोक्सानीको विषयमा पनि विश्वको ध्यान आकर्षित गर्ने नै छ।
विश्वका विकसित देशहरूले यसमा योगदान गर्ने कोष बढाउन दबाब दिने यो उपयुक्त समय भएकाले राष्ट्रसङ्घका अधिकारीहरू नै यसलाई जोडतोडका साथ उठाइरहेका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनले देशहरू र मानिसहरूको जीवनमा पार्ने असर निकै खराब हुँदै गएको र यसको पछिल्लो प्रमाण नेपालको घटना हो भनेका थिए।
गत बुधबार मात्रै पनि संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा ८१औं महासभाको उच्चस्तरीय सप्ताह सुरु हुन लागेको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले उक्त धारणा राखेका थिए।
संवाददाताहरूले उच्चस्तरीय बैठकहरूमा नेपालमा हालै आएको विपद् र विश्वव्यापी तापक्रम वृद्धिको सम्बन्धमा कुनै ठोस नतिजाको अपेक्षा गर्न सकिन्छ भन्ने प्रश्नको जवाफ दिँदै महासचिव गुटेरेसले तीन वर्षअगाडि आफू अन्नपूर्ण र सगरमाथाका हिमनदीहरूमा गएको र त्यतिबेलै अवस्था निकै खराब हुँदै गइरहेको र कुनै पनि विनाशकारी घटना घट्न सक्ने भनेको र अहिले त्यस्तै भएको बताएका थिए।
महासचिव गुटेरेसले जलवायु परिवर्तनले देशहरूको अवस्था अझै बिग्रन सक्ने भन्दै सचेत रहनसमेत आग्रह गरेका छन्। यसैले यसपटकको महासभामा नेपालले जलवायु न्याय के-कति मात्रामा प्राप्त गर्न सफल हुन्छ भन्ने त भविष्यको विषय हो, तर नेपालले आफ्नो भनाइ राख्नका लागि उपयुक्त अवसर भने अवश्य प्राप्त गरेको छ। आशा गरौं, अरू महासभाभन्दा नेपालले यो महासभाबाट बढीभन्दा बढी लाभ लिन सफल होस्।
समयमै सचेतता नअगाडि बढाउने हो भने सेप्टेम्बरमा सिमसिम परेको पानीजस्तै झन् बढ्दै जाने र दुई दशकपछि हिमपात भएर राष्ट्रसंघको महासभालाई नै अवरोध पुर्याउने पो हो कि? त्यसैले जलवायु परिवर्तनजस्तो गम्भीर समस्याले विश्वको मानचित्रमै धक्का दिने भएकाले यसमा विश्वभरका सरकार प्रमुखहरूले प्रतिबद्धताअनुसारको काम गरेर भावी पिँढीका लागि सबल र सक्षम पृथ्वी हस्तान्तरण गर्न सफलता मिलोस्।
मधुकर अधिकारी/रासस
No ads found for this position



डिसी नेपाल
Facebook Comment