बाहिरी हमला भइरहेका बेला पार्टीभित्रैबाट अराजकता फैलाइयो : ओली
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरूले चौतर्फी हमला गरिरहेको संवेदनशील समयमा पार्टीभित्रैबाट अनुशासनहीनता र अराजकता सिर्जना गर्ने काम भएको भन्दै कडा असन्तुष्टि व्यक्त गरेका छन्।
सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमाथिको प्रतिकूलता र फाँसीवादी हमलाको सामूहिक रूपमा प्रतिवाद गर्नुपर्ने बेलामा भित्रैका केही व्यक्ति र तत्त्वहरू समस्या खडा गर्न उद्यत भएको आरोप लगाए।
“यतिबेला हामी एकजुट र एकढिक्का भएर यो प्रतिकूलताको सामना गर्नुपर्थ्यो,” ओलीले भने, “तर मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो भन्दै जगहँसाउन गर्ने, पार्टीको प्रतिष्ठा कमजोर पार्ने र विपक्षीको मनोबल बढाउने काम भयो। पार्टीमा बहस गर्ने ठाउँ समितिभित्रै छ, बाहिर गएर यस्ता क्रियाकलाप गर्न पाइँदैन।”
उनले पार्टीभित्रको अराजकतालाई नियन्त्रण गरी अनुशासित सङ्गठन निर्माण गर्नुपर्ने परिस्थिति बनेको स्पष्ट पारे।
यसैगरी, कार्यदलले प्रतिवेदन बुझाउन ढिलाइ गरेका कारण केन्द्रीय कमिटीको बैठक बस्नसमेत विलम्ब भएको ओलीले बताए। पार्टीलाई नयाँ गति दिन गठित पुनर्गठन कार्यदलले १ महिनाको समयसीमा पाएकामा ४ महिना लगाएकाले बैठक प्रभावित भएको उनको भनाइ थियो।
“कार्यदलले काम नसकेकाले सचिवालय बस्न सकेन र सचिवालयबिना केन्द्रीय कमिटी बस्न उपयुक्त भएन,” ओलीले थपे, “आइतबार बेलुका मात्र कार्यदलले प्रतिवेदन बुझाएको छ।
सचिवालयका नेताहरू नै संलग्न रहेको कार्यदलको प्रतिवेदनलाई सचिवालयको सम्पत्तिका रूपमा ग्रहण गरिएको छ र सोही प्रतिवेदनलाई ध्यानमा राखेर मैले आफ्नो राजनीतिक प्रतिवेदन तयार पारेको छु।”
No ads found for this position



डिसी नेपाल
Facebook Comment