विपद् प्रभावितको सहयोगार्थ ‘२० कवि : २० कविता’ च्यारिटी शो

डिसी नेपाल
५ असोज २०८३ १३:५५

काठमाडौं। यशस्वी प्रज्ञा प्रतिष्ठानको संयोजन तथा शिल्पी थिएटरको समन्वयमा बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित ‘२० कवि : २० कविता’ च्यारिटी शो सम्पन्न भएको छ।

प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकहरूप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा २० जना कविहरूले पीडा, संवेदना, प्रश्न र आशालाई केन्द्रमा राखी आफ्ना रचना प्रस्तुत गरेका थिए।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले समेत कविका रूपमा रसुवाका बाढीपीडितको व्यथा समेटिएको मर्मस्पर्शी कविता वाचन गरेका थिए।

कार्यक्रममा कवि, गजलकार तथा साहित्यिक अभियन्ता बाबु त्रिपाठीले पृष्ठभूमिसहित सहजीकरण गरेका थिए भने शिल्पी थिएटरका संस्थापक एवं कलात्मक निर्देशक घिमिरे युवराजले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए।

कार्यक्रममा हेम प्रभास, गीता त्रिपाठी, कृसु क्षेत्री, रुपेश श्रेष्ठ, रिमा केसी, भोजराज न्यौपाने, एस.पी. कोइराला, ज्योति जङ्गल, दीप दाङ्गी, उषा शेरचन, प्रकाश घायल, रीता खत्री, प्रोल्लास सिन्धुलीय, कल्पना काफ्ले, ओम रिजाल, पवन आलोक, भगवती बस्नेत, यात्रीप्रकाश पाण्डे, अमर दीप सुनुवार र विप्लव ढकालले कविता वाचन गरेका थिए।

कार्यक्रमको समापन यशस्वी प्रज्ञा प्रतिष्ठानकी संस्थापक निर्देशक तथा कवि रञ्जना निरौलाको मन्तव्यसँगै भएको थियो।

‘दुःखमा कविता, कवितामा संवेदना र संवेदनामा साथ’ भन्ने मानवीय भावनाका साथ आयोजित उक्त कार्यक्रम सफल बनाउन सहयोग गर्ने दर्शक, सञ्चारमन्त्री, सहभागी कविहरू, शिल्पी थिएटर परिवार, साङ्ग्रिला बुक्सलगायत सम्पूर्ण सहयोगी संस्थाहरूप्रति आयोजकले आभार व्यक्त गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *