दिल्ली पुग्न सस्तो, सुदूरपश्चिम पुग्न महँगो भयो: रास्वपा सांसद आकृति अवस्थी
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आकृति अवस्थीले नेपालको आन्तरिक हवाई भाडा अत्यधिक महँगो भएको भन्दै सरकार र एयरलाइन्स कम्पनीहरूप्रति कडा असन्तुष्टि जनाएकी छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद अवस्थीले चाडपर्व तथा बाढीपहिरोजस्ता विपद्का समयमा आन्तरिक हवाई भाडामा हुने अनियन्त्रित वृद्धिप्रति सरकारको ध्यानाकर्षण गराएकी हुन्।
उनले व्यङ्ग्यात्मक शैलीमा भनिन्, “नेपालको आन्तरिक उडानमा यहाँहरूलाई हार्दिक स्वागत छ। कृपया सिटको पेटी कस्नुहोला, किनकि जहाजभन्दा छिटो हवाई भाडा माथि उठिरहेको छ।”
सुदूरपश्चिमको हवाई भाडाको प्रसङ्ग उल्लेख गर्दै उनले ४ जनाको परिवार चाडपर्वमा घर फर्किनुपर्दा महँगो टिकटका लागि मोबाइलसमेत बेच्नुपर्ने अवस्था आउन सक्ने टिप्पणी गरिन्।
बाढीपहिरोले सडक अवरुद्ध हुँदा वा दसैँजस्ता चाडपर्वमा एयरलाइन्स कम्पनीहरूले भाडा वृद्धिलाई ‘माग र आपूर्ति’ (डिमान्ड एन्ड सप्लाई) को सिद्धान्त भनेर पन्छिन खोजे पनि सर्वसाधारणका लागि यो ‘बाध्यताको मूल्य’ भएको उनको भनाइ थियो।
“दिल्ली पुग्न सस्तो, आफ्नै सुदूरपश्चिम पुग्न महँगो अवस्था छ। दिल्लीभन्दा सुदूरपश्चिमलाई सस्तो बनाइयोस्,” उनले भनिन्।
भाडा होइन नाफा कमाउन तर नागरिकको बाध्यताको फाइदा नउठाउन आग्रह गर्दै सांसद अवस्थीले एयरलाइन्स कम्पनीहरूलाई चाडपर्वका बेला सर्वसाधारणले सहज रूपमा यात्रा गर्न सक्ने गरी भाडादर कायम गर्न माग गरिन्। उनले सुदूरपश्चिमलाई ‘दूर’ नभई सहज पहुँचयुक्त क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा समेत जोड दिइन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment