ओलीलाई दिल्लीबाट ईश्वर पोखरेलको पत्र- सम्मानजनक बिदाइ रोज्नुहोस्, त्यसको विकल्प छैन

डिसी नेपाल
५ असोज २०८३ १५:२८

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटेर सम्मानजनक मार्गप्रशस्त गर्न आग्रह गरेका छन्। जारी केन्द्रीय कमिटी बैठकमा पत्र पठाउँदै उनले पार्टीमा नयाँ आशा जगाउन नेतृत्वको पुनर्गठन अनिवार्य भइसकेको उल्लेख गरेका हुन्।

पत्नीको उपचारका क्रममा भारतमा रहेका कारण केन्द्रीय कमिटी बैठकमा भौतिक रूपमा उपस्थित हुन नसकेपछि पोखरेलले लिखित पत्रमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदमा ओलीसँगै प्रतिस्पर्धा गरी पराजित भएका पोखरेलले पत्रमा पार्टी अहिले निकै जटिल मोडमा पुगेको औँल्याएका छन्।

पोखरेलले पत्रमा लेखेका छन्, ‘पार्टी जटिल अवस्थामा छ। आजको जटिलतर बन्दै गएको अवस्थामा पुनर्गठन नगरी आम पार्टी पङ्क्ति र आम जनतामा समेत आशा जगाउन सकिन्न, अगाडि बढ्न सकिन्न। यसका लागि देशभरिका आम कार्यकर्ताहरूको चाहना र मागबमोजिम तपाईँको सम्मानजनक मार्गप्रशस्त विशेष महत्त्वपूर्ण हुनेछ।’

अध्यक्ष ओलीको सम्मानजनक बिदाइ र विधिसम्मत ढङ्गले नयाँ नेतृत्व चयन गर्नुबाहेक पार्टी र समर्थकहरूमा पुनः आशा जगाउने अन्य कुनै विकल्प नरहेको दाबी पोखरेलको छ।

साथै, महाधिवेशनका क्रममा आफूले उठाएका विषयहरूबाट ओलीप्रति पर्न गएको असजिलोप्रति क्षमायाचना गर्दै उनले पार्टीभित्रका आगामी सबै निर्णय तथा गतिविधि विधि र प्रक्रियाबमोजिम अगाडि बढाउनसमेत आग्रह गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *