प्रतिनिधिसभा र चार संसदीय समितिको बैठक: यस्ता छन् प्रमुख कार्यसूची

डिसी नेपाल
६ असोज २०८३ ६:२७

काठमाडौं।  संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ। अपराह्न १:०० बजे बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यसैबीच, आज संघीय संसद्अन्तर्गतका विभिन्न चार वटा संसदीय समितिका बैठकहरू पनि बस्दैछन्। संघीय संसद् सचिवालयका अनुसार अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो।

बिहान १०:०० बजे बस्ने अर्थ समितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल हुनेछ। उक्त बैठकमा विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँग छलफल गर्ने कार्यसूची तय गरिएको छ।

यस्तै, बिहान १०:०० बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक भने बिहान ११:१५ बजे बस्दैछ। बैठकमा नेपालमा स्वदेशी, वैदेशिक, निजी तथा सार्वजनिक लगानीको अवस्था, जलवायु परिवर्तनले लगानीको वातावरणमा पारेको प्रभाव, लगानी सम्मेलनको व्यवस्थापन र कानुनमा गर्नुपर्ने आवश्यक सुधारका विषयमा छलफल हुनेछ।

यसैगरी, बिहान ११:३० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘पुस्तकालय नीति’को मस्यौदाका सम्बन्धमा विज्ञहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *