त्रिपुरेश्वर बस आगलागी: मृतक चालकको पहिचान खोज्दै प्रहरी, लाइसेन्स दुरुपयोगको आशंका
काठमाडाैं। काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी ज्यान गुमाएका व्यक्तिको पहिचान अझै खुल्न सकेको छैन।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार दुर्घटनामा गम्भीर घाइते भई ज्यान गुमाएका चालकको वास्तविक पहिचान र ठेगाना पत्ता लगाउन प्रहरीले गहन अनुसन्धान गरिरहेको छ।
मृतकका आफन्तहरू हालसम्म प्रहरीको सम्पर्कमा आएका छैनन्। सोमबार प्रारम्भिक सोधपुछका लागि सम्पर्कमा आएका केही व्यक्तिहरू पनि मंगलबार सम्पर्कविहीन बनेकाले प्रहरीले खोजी तथा अनुसन्धानलाई तीव्रता दिएको छ।
घटनास्थलमा जलेका व्यक्तिको साथबाट फेला परेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का आधारमा प्रहरीले सुरुमा उनी काभ्रेका २५ वर्षीय दावा लामा भएको अनुमान गरेको थियो।
तर, पछि दावा लामा स्वयम्ले सामाजिक सञ्जालमार्फत आफू पूर्ण रूपमा सुरक्षित रहेको जानकारी गराएपछि प्रहरीले कसैको लाइसेन्स दुरुपयोग भएको आशंकामा अनुसन्धान अघि बढाएको छ।
प्रहरीले ती दावा लामालाई थप सोधपुछका लागि रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बोलाएको छ भने बससँग सम्बन्धित अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको छ।
त्रिपुरेश्वर बस स्टप नजिकै सोमबार दिउँसो रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो।
आगलागी हुनुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको बताइएको छ। आगलागीबाट गम्भीर घाइते भएका चालकको सोमबार साँझ नै कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment