पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि फ्लाई दुबईको नियमित उडान
दुबई-पोखरा सोझो सम्पर्कले व्यवसायी र सर्वसाधारण उत्साहित
कास्की। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आजदेखि फ्लाई दुबईले ‘दुबई-पोखरा-दुबई’ रुटमा आफ्नो नियमित व्यावसायिक उडान सुरु गर्दैछ।
वि.सं. २०७९ पुस १७ गते अंग्रेजी नयाँ वर्षको दिन उद्घाटन भई सञ्चालनमा आएको विमानस्थलबाट निरन्तर अन्तरराष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईले दैनिक उडान सुरु गर्न लागेपछि स्थानीय पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारणमा उत्साह छाएको छ।
अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनका कामहरू पूरा भइसकेको जानकारी विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले दिए।
उनका अनुसार फ्लाई दुबईको पहिलो जहाज बुधबार साँझ ६:१५ बजे पोखरा विमानस्थलमा अवतरण गर्नेछ भने यात्रुहरू लिएर सोही दिन साँझ ७:१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ। पोखरा अवतरण हुने विमानलाई ‘वाटर क्यानन स्यालुट’ (पानीको फोहरा) ले भव्य स्वागत गरिने कार्यक्रम रहेको छ।
अध्यागमन, भन्सार, कार्गो लगायतका सबै सेवा प्रवाहका लागि विमानस्थल पूर्ण रूपमा तयारी अवस्थामा रहेको जानकारी महाप्रबन्धक निरौलाले गराए। विमानस्थल सञ्चालनमा आएपछि केही वायुसेवा कम्पनीहरूले चार्टर तथा अल्पकालीन अन्तर्राष्ट्रिय उडान गरे पनि तिनले निरन्तरता पाउन सकेका थिएनन्।
अब दुबईका लागि दैनिक रूपमा नियमित उडान सुरु हुन लागेकाले पोखराको पर्यटन र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
फ्लाई दुबईको जहाजमार्फत पोखरा आउने र यहाँबाट दुबईतर्फ प्रस्थान गर्ने यात्रु तथा पर्यटकहरूलाई पोखराका पर्यटन व्यवसायीहरूले खादा र माला लगाएर स्वागत तथा बिदाइ गर्ने विशेष तयारी गरेका छन्।
यसैगरी पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले राजस्व संकलन, वैधानिक व्यापार सहजीकरण, यात्रु जाँचपास तथा निकासी-पैठारीका लागि भन्सार नियमानुसार गर्नुपर्ने सम्पूर्ण व्यवस्थापन मिलाइसकिएको स्पष्ट पारे।
दुबई विश्वकै प्रमुख हवाई ट्रान्जिट हबका रूपमा रहेको र फ्लाई दुबईले विश्वका १२० भन्दा बढी गन्तव्यमा उडान भर्दै आएकाले यो उडान नियमित र दीर्घकालीन हुनेमा पर्यटन व्यवसायीहरू विश्वस्त छन्।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार दुबई हबमार्फत विश्वका अन्य सहरका पर्यटकलाई पोखरा भित्र्याउन सहज हुनेछ भने रोजगारी तथा अध्ययनका लागि दुबई र अन्य मुलुक जाने नेपालीहरूलाई पनि काठमाडौं धाइनुपर्ने बाध्यता हट्नेछ।
यसैबीच, पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने क्रममा आवश्यक पर्ने शान्तिसुरक्षा व्यवस्थाबारे जिल्ला सुरक्षा समितिले विमानस्थलको स्थलगत निरीक्षण गरिसकेको छ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले अन्तरराष्ट्रिय उडानका लागि विमानस्थल परिसर र वरपर आवश्यक सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइसकिएको जानकारी दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment