मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव: आज देशका केही स्थानमा भारी वर्षाको जोखिम

डिसी नेपाल
७ असोज २०८३ ६:५०

काठमाडौं।  हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीको मध्य-पश्चिम भूभाग आसपास न्यून चापीय प्रणाली बनेको छ। उक्त प्रणाली आगामी दिनमा थप सशक्त बन्दै पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने पहाडी तथा तराई भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

यसैगरी मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका साथै मधेश प्रदेश र कोशी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

आज राति पनि देशभर साधारणतया बादल लागिरहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा एवं लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।

रातिको समयमा पनि मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षाको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *