हिमालय संरक्षणका लागि विश्वव्यापी साझा अवधारणा र निरन्तर पहल आवश्यक: उपनेता गणेश पराजुली

डिसी नेपाल
१५ असोज २०८३ १४:२४

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर रूपमा पहल हुनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको असोज १५ गते (बिहीबार) बसेको बैठकमा विशेष समय मागेर बोल्दै उपनेता पराजुलीले हिमाल संरक्षण अभियानलाई सार्थक र परिणाममुखी बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा एकीकृत प्रयास हुनुपर्नेमा जोड दिए।

मुलुकका शीर्ष नेताहरू सम्मिलित सर्वदलीय संयन्त्रको अनुरोधमा गठन भएको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ को सभापतिको जिम्मेवारी आफूले पाएकाले हिमाल संरक्षणलाई केन्द्रमा राखेर कार्य अघि बढाउने उनले बताए।

उक्त संसदीय विशेष समितिले कुनै पनि पूर्वाग्रह वा पूर्वनिर्धारित निष्कर्षका आधारमा नभई वैज्ञानिक प्रमाण र प्रभावित नागरिकको वास्तविक भोगाइका आधारमा निष्पक्ष तथा परिणाममुखी अध्ययन गर्ने उपनेता पराजुलीले स्पष्ट पारेका छन्।

समितिलाई तोकिएको जिम्मेवारी पूरा गर्न सम्बन्धित क्षेत्रका विज्ञ, विश्वविद्यालय, अनुसन्धान संस्था, सरकारी निकाय, सुरक्षा निकाय, सञ्चारजगत, स्थानीय तह र प्रभावित नागरिकहरूसँग गहन सहकार्य गरिने उनले प्रतिबद्धता जनाए।

यस क्रममा जलवायु परिवर्तनको प्रभाव, विपद्का कारण, जोखिम न्यूनीकरण, पूर्वचेतावनी प्रणाली, उद्धार-राहत, पुनःस्थापना र दिगो पुनर्निर्माणसम्मका विषयलाई विस्तृत रूपमा समेटिने उनले जानकारी दिए।

यसैगरी, हालैको बाढी र पहिरोबाट प्रभावित नागरिकको ज्यान जोगाउन, प्रभावित परिवारसम्म समयमै सहायता पुर्‍याउन र अवरुद्ध बन्न पुगेको जनजीवनलाई यथासक्य छिटो सामान्य बनाउनेतर्फ सरकारसहित सम्बद्ध सबै पक्षको ध्यान केन्द्रित हुनुपर्ने धारणा उनले व्यक्त गरे।

“जोखिमयुक्त बस्तीबाट स्थानान्तरण गरिएका नागरिकको बसाइ सुरक्षित मात्र होइन, मर्यादित र व्यवस्थित पनि हुनुपर्छ,” उपनेता पराजुलीले भने, “राहत वितरण पहुँच वा प्रभावका आधारमा होइन, आवश्यकता र औचित्यका आधारमा हुनुपर्छ।”

उद्धार, राहत, पुनर्निर्माण र पुनःस्थापनाको कार्यमा हाम्रा तीनै तहका सरकार, सुरक्षा निकाय, राजनीतिक दल, सामाजिक सङ्घसंस्था र स्थानीय समुदायबीच स्पष्ट जिम्मेवारीसहितको प्रभावकारी समन्वय आवश्यक रहेको उनले उल्लेख गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *