फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो
कास्की। पोखरा महानगरपालिकाले अधेरीकुनादेखि फेवातालसम्म बजारको मध्य भाग भएर बग्ने फिर्के खोलाको खोलाघरभित्र निर्माण गरिएका संरचना हटाउने कार्य पुनः थालिएको गरेको छ।
फिर्के खोलाको खोलाघरभित्र निर्माण भएका संरचना सम्बन्धित व्यक्ति तथा संस्थाले आफैँ हटाउने भनी महानगरपालिका समक्ष मौखिक सहमति जनाए पनि सहमतिअनुसार संरचना नहटाएपछि महानगरपालिकाले आजदेखि हटाउने कार्य अगाडि बढाएको हो। महानगरपालिकाले फिर्के खोलाको संरक्षण, विकास तथा सम्वर्द्धन गर्दै वातावरण तथा पर्यावरणमैत्री पोखरा निर्माण गर्ने अभियानअन्तर्गत गत जेठ १० गतेदेखि खोलाघरभित्रका संरचना हटाउने कार्य अघि बढाएको थियो।
केही संरचना हटाएपछि स्थानीयको आग्रहमा हटाउनका लागि थप समय दिइएको थियो। तर यसबीचमा संरचना पूर्ण रुपमा नहटेपछि महानगरले अतिक्रमण हटाउन पुनः सुरु गरेको जनाएको छ। महानगरले गरेको नाप जाँच अनुसार फिर्केमा स्थायी र अस्थायी गरी १६० संरचना छन्।
फिर्के खोलाको प्राकृतिक बहाव कायम राख्दै यसको संरक्षण र व्यवस्थापनमार्फत पोखराको वातावरणीय सौन्दर्य तथा पर्यावरणीय सन्तुलन कायम गर्न महानगरपालिकाले संरचना हटाउने कार्यलाई निरन्तरता दिएको महानगर प्रमुख धनराज आचार्यले बताए। उनका अनुसार फिर्केखोलाको प्राकृतिक बहाव क्षेत्रभित्र रहेका संरचना हटाउने विषयमा लामो कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी अदालतको आदेशसमेत पर्खिएपछि महानगरपालिकाले संरचना हटाउने कार्य अघि बढाएको हो।
“महानगरपालिकाले यसअघि केही संरचना हटाएपछि सम्बन्धित घरधनी तथा सङ्घ–संस्थाहरूले आफैँ संरचना हटाउन समय उपलब्ध गराइदिन अनुरोध गर्नुभएको थियो। सोहीअनुसार निश्चित समयसीमा तोकेर आफैँ संरचना हटाउने अवसर दिइएको थियो। तोकिएको समय सीमा तथा थप गरिएको समयसँगै भोटेकोशीमा गएको बाढी र वर्षायामलाई समेत मध्यनजर गरी अतिरिक्त समय उपलब्ध गराउँदा पनि कतिपय संरचना नहटाइएपछि महानगरपालिकाले माइकिङमार्फत सूचना जारी गरेको थियो”, प्रमुख आचार्यले भने।
फिर्केखोलाको प्राकृतिक बहाव क्षेत्र संरक्षण, बाढी तथा डुबानको जोखिम न्यूनीकरण र सुरक्षित तथा व्यवस्थित पोखरा निर्माणका लागि संरचना हटाउने अभियान अघि बढाइएको उनले बताए। फिर्केका खोलाघरभित्रका संरचना हटाउन ढिलाइ भएपछि नागरिक समाजले निरन्तर महानगरको ध्यानाकर्षण गराउँदै आएको थियो।
नागरिक अभियन्ता रामबहादुर पौडेलले फिर्केको खोलाघरमा निर्मित बाँकी संरचना खाली गर्ने अभियान सुरु भएकामा खुशी व्यक्त गरे। “खोलाघरमा बनेका संरचना पूर्ण खाली गरेलगत्तै दोस्रो चरणमा मुआब्जा वितरण र दायाँवायाँ फुटट्रयाक र साइकल लेन सहित करिडोर निर्माणमा महानगरले काम गर्नुपर्छ,” अभियन्ता पौडेलले भने।
साबिक ग्यारजातीपछि सराङकोट हुँदै हाल पोखरा महानगरपालिका–१८, २ ,४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिने फिर्के खोलाको कूल लम्बाइ आठ किलोमिटर रहेको छ। यो खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नाप जाँचका क्रममा पाइएको छ। फिर्केखोलाको प्राविधिक नाप जाँचपछि यकिन गरिएको खोला घरको पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ वटा सीमा स्तम्भ गाडिएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment