हिम्लुङ हिमपहिरो : थप ८ जनाको शव भेटियो, मृतकको संख्या १५ पुग्यो
मनाङ। मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी हराइरहेकामध्ये बिहीबार थप आठ जनाको शव भेटिएको छ। योसँगै गत असोज ११ गते गएको हिमपहिरोमा परी ज्यान गुमाउने आरोहीको संख्या १५ पुगेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार बिहान चार र दिउँसो थप चार जनाको शव फेला परेको हो। यसअघि सात जनाको शव भेटिइसकेको थियो। घटनामा अझै एक जना हराइरहेका छन्।
नेपाली सेनाको हेलिकप्टरमार्फत फेला परेका शवहरूमध्ये दुई वटा सदरमुकाम चामे र छ वटा फूगाउँसम्म ल्याइएको छ। ‘रात परेकाले हेलिकप्टर उडान सम्भव भएन। बाँकी शवहरू शुक्रबार चामे ल्याइनेछ,’ सहायक प्रजिअ पौडेलले भने।
यसैबीच, नेपाली सेनाको टोलीले स्थानीय प्रशासन र अन्य सुरक्षा निकायको समन्वयमा चामे गाउँपालिका–४ स्थित ठाडो खोलामा पहिरोले थुनिएको मर्स्याङ्दी नदीको बहाव खुलाउने र अवरुद्ध विद्युत् प्रसारण लाइन मर्मतको काम गरिरहेको छ।
असोज ११ गते बिहान हिम्लुङ हिमालको आधार शिविरमा हिमपहिरो गएको थियो। हराइरहेकाहरूको खोज तथा उद्धारका लागि नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले ११ सदस्यीय दक्ष उद्धार टोली परिचालन गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment