चीनका रेस्टुरेन्टमा रोबोट शेफको कमाल: मानिसबिना नै स्वादिला परिकार तयार, ग्राहकको मन जित्दै
एजेन्सी। कृत्रिम बुद्धिमत्ता (एआई) एवं प्रविधिको क्षेत्रमा चीनले ऐतिहासिक फड्को मारेको छ। यतिबेला चीनका केही प्रमुख शहरहरूमा सञ्चालित रेस्टुरेन्टका भान्सामै रोबोटहरूले प्रत्यक्ष सेवा दिन थालेका छन्।
विशेष गरी दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तका रेस्टुरेन्टहरूमा रोबोट शेफले ग्राहकको मन तीव्र रूपमा जित्दै गएका छन्। त्यहाँका रेस्टुरेन्टहरूमा रहेका रोबोटहरूले कुनै पनि मानवीय सहयोगबिना विभिन्न परिकारहरू आफैँ तयार गर्ने गरेका छन्।
ती रोबोटहरूले परिकारमा आवश्यक सामग्री हाल्ने, चलाउने र स्वादअनुसार मसला थप्ने सम्पूर्ण काम आफैँ गर्छन्। रेस्टुरेन्टमा रोबोटले बनाएका परिकारहरू निकै स्वादिला र गुणस्तरीय हुने गरेका छन्।
“घरमा पकाएको जस्तै स्वाद छ। स्थानीय मानिसहरूको स्वाद र चाहनाअनुसारका परिकारहरू रोबोटले तयार गर्ने गरेका छन्,” एक स्थानीय व्यवसायीले रोबोटको भान्सा अनुभवबारे बताए।
रोबोट निर्माण गर्ने कम्पनीका संस्थापकका अनुसार त्यस्ता रोबोटिक मेसिनहरूलाई उन्नत एआई क्षमतासहित अपग्रेड गरिएको छ। यसले अनुभवी शेफले खाना पकाउँदा अपनाउने सूक्ष्म तरिका र प्रक्रियाहरू रेकर्ड गरी त्यसलाई प्लस वा माइनस ०.१ एकाइको शुद्धता (Accuracy) सम्म दोहोर्याएर दुरुस्त परिकार तयार गर्न सक्छ।
चेङ्दु सहरस्थित कुकिङ रोबोट कम्पनीका संस्थापक झेङ हाओतियान भन्छन्, “हाम्रा नयाँ मोडलहरू अझ बुद्धिमान बनेका छन्। यसले वास्तवमै पूर्ण रूपमा स्वचालित भएर खाना पकाउने काम गर्न सक्छ। एउटा बटन थिचेपछि यसले स्वचालित रूपमा सामग्री थप्छ, खाना पकाउँछ, प्लेटमा सजाउँछ र पकाउने भाँडो (वोक) सफासमेत गर्छ-अर्थात् सुरुदेखि अन्त्यसम्मका सम्पूर्ण प्रक्रियाहरू आफैँ सम्हाल्छ।”
संस्थापकका अनुसार यस्ता आधुनिक रोबोटिक उत्पादनहरू हाल फास्ट-फुड चेनहरूदेखि साना पारिवारिक तथा स्थानीय पसलहरूसम्म व्यापक रूपमा प्रयोग भइरहेका छन्।
यस वर्ष मात्रै कम्पनीले विश्वका १४ वटा देश तथा क्षेत्रमा आफ्ना ग्राहकहरूलाई ६,००० युनिटभन्दा बढी यस्ता रोबोटिक मेसिनहरू सेवा प्रवाह गरिसकेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment