कागेश्वरी मनोहराका इन्जिनियरसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

डिसी नेपाल
१६ असोज २०८३ १९:३२

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागेश्वरी मनोहरा नगरपालिकाकी इन्जिनियर दिपा कार्कीसहित तीन जनाविरुद्ध घुस लिएर भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आरोपपत्रमा इन्जिनियर कार्की, आस्मा कार्की र आशिष पौडेललाई प्रतिवादी बनाइएको छ। अख्तियारका अनुसार भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुखसमेत रहेकी दिपा कार्कीले घर निर्माणको संरचनागत विश्लेषण स्वीकृत गर्नेलगायतका काममा सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो। अनुसन्धानका क्रममा अख्तियारको टोलीले इन्जिनियर कार्की र रकम लिएर मध्यस्थको भूमिका निर्वाह गर्ने आस्मा कार्कीलाई ६४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानबाट दिपा कार्कीले आस्मा कार्की र आशिष पौडेलसँगको मिलेमतोमा घर निर्माणको संरचनागत विश्लेषण स्वीकृति तथा सिफारिस, नक्सा पास, घर निर्माण सिफारिस, अस्थायी अनुमति र निर्माण सम्पन्नलगायतका काममा सहजीकरण गरिदिने भन्दै आफूहरूका लागि २ लाख ८ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारको दाबी छ। सोही आधारमा कार्कीविरुद्ध २ लाख ८ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार कैद र बिगोबमोजिम जरिवाना माग गरिएको छ। त्यस्तै, आस्मा कार्कीलाई मुख्य कसुरदारलाई सहयोग गर्ने मतियारका रूपमा २ लाख ८ हजार रुपैयाँ बिगो कायम गरी मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको छ। अर्का प्रतिवादी आशिष पौडेललाई १ लाख ४४ हजार रुपैयाँ बिगो कायम गरी मुख्य कसुरदारसरह सजाय माग गरिएको अख्तियारले जनाएको छ।

अख्तियारले तीनै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को सम्बन्धित व्यवस्थाबमोजिम सजायको मागदाबी गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *