युरोपमा सफल व्यवसाय, स्वदेशमा राजनीति: नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा टंक लम्सालको उम्मेदवारी
काठमाडौं। स्याङ्जाको तत्कालीन चिन्नेबास गाविस (हाल विरुवा गाउँपालिका) को मान्के गाउँमा २०३४ सालमा जन्मिएका टंक लम्सालको जीवन यात्रा संघर्ष, निरन्तरता र सफलताको प्रेरणादायी उदाहरण बनेको छ।
गाउँको जनप्रिय माविबाट २०५० सालमा एसएलसी उत्तीर्ण गरी पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययन सुरु गरेका लम्साल लोकतान्त्रिक मूल्य-मान्यताबाट प्रेरित हुँदै २०५३ सालमै स्याङ्जाबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) को क्षेत्रीय सभापति बनेका थिए।
विद्यार्थी राजनीति र उच्च शिक्षालाई सँगसँगै अघि बढाउँदै गर्दा सन् २००१ मा उनी जीवनको नयाँ मोडका रूपमा जर्मनी प्रस्थान गरे। नयाँ भाषा, संस्कृति र वातावरणका बीच सुरुमा कोरियन तथा इटालियन रेस्टुरेन्टहरूमा साना-तिना कामदारका रूपमा काम गर्दै उनले हस्पिटालिटी र रेस्टुरेन्ट व्यवस्थापनको व्यवहारिक ज्ञान हासिल गरे।
युरोपमा नेपाली परिकारको प्रवर्द्धन र व्यावसायिक सफलता
कडा मेहनत र लगनशीलताका बलमा लम्सालले सन् २०१० मा जर्मनीको मुन्स्टर सहरबाट ‘मेरो बुद्ध नेपाली किचन’ स्थापना गरी आफ्नै उद्यम सुरु गरे। पछि स्याङ्जाकै सहकर्मी सूर्य तिवारीसँगको व्यावसायिक साझेदारीमा सन् २०१६ मा यसको दोस्रो शाखा विस्तार भयो। हाल फ्र्यांकफर्ट सहरलाई केन्द्र बनाएर ‘मेरो बुद्ध’ र नेपाली बान्कीको ‘कुलायन’ रेस्टुरेन्ट सञ्चालनमा छन्। यी चार शाखामार्फत उनले २० भन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी समेत दिएका छन्।
जर्मनीको फ्र्याङ्कफर्टस्थित उनको निवास र रेस्टुरेन्ट नेपालबाट युरोप पुग्ने विद्यार्थी, राजनीतिक नेतृत्व, साहित्यकार र कलाकारहरूका लागि भरोसायोग्य ‘आश्रयस्थल’ र आतिथ्यको केन्द्र बन्दै आएको छ।
कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी र स्वदेश फर्किने संकल्प
प्रवासमा रहेर पनि नेपाली कांग्रेसको जनसम्पर्क समिति र सङ्गठन निर्माणमा निरन्तर सक्रिय रहँदै आएका लम्साल १५औँ महाधिवेशनका लागि युरोप क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भई नेपाल फर्किएका छन्। उनले १५औँ महाधिवेशनमा युरोप कोटाबाट पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। प्रवासको व्यवस्थापकीय अनुभव, अन्तर्राष्ट्रिय सञ्जाल र राजनीतिक दृष्टिकोणलाई पार्टीको नीति निर्माण तहमा जोड्ने उनको उद्देश्य छ।
अन्तर्राष्ट्रिय स्तरमा व्यावसायिक सफलता हासिल गरे पनि आगामी ५ वर्षभित्र पूर्ण रूपमा नेपाल फर्किएर स्वदेशमै नयाँ उद्यम सुरु गर्ने, रोजगारी सिर्जना गर्ने र सक्रिय राजनीति तथा समाजसेवामा समर्पित हुने लम्सालको योजना छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment