‘पुरानो पार्टी’को छवि बदल्दै कांग्रेसमा जेन्जीको इन्ट्री, ४९५ भन्दा बढी युवा प्रतिनिधि (भिडियोसहित)

डिसी नेपाल
१९ असोज २०८३ १४:१२

काठमाडौं।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा तथा जेन्जी पुस्ताको उल्लेख्य सहभागिताले पार्टीको भावी नेतृत्वबारे नयाँ बहस सुरु भएको छ। देशभरबाट आएका युवा प्रतिनिधिहरूले आफूहरूलाई नेतृत्व र नीति निर्माणमा अवसर दिइएको भन्दै उत्साह व्यक्त गरेका छन्।

महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै एक युवा प्रतिनिधिले विगतमा कांग्रेसलाई पुरानो पुस्ताको मात्र पार्टी भनेर आलोचना हुने गरे पनि यसपटक युवाको सहभागिताले त्यो धारणा बदलिँदै गएको बताए।

आफू जेन्जी पुस्ताको युवा भएको र गगन थापालगायत नेताहरूबाट प्रभावित भएर कांग्रेसमा लागेको बताउँदै उनले नगर सभापतिजस्तो जिम्मेवार पदमा आफूजस्ता युवालाई अवसर दिनुले पार्टीले नयाँ पुस्तामाथि विश्वास गरेको देखाएको बताए।

यसपटक महाधिवेशनमा ३५ वर्षमुनिका युवाको सहभागिता पनि उल्लेख्य देखिएको प्रतिनिधिहरूको भनाइ छ। विभिन्न क्लस्टर तथा खुला प्रतिस्पर्धाबाट ४९५ भन्दा बढी युवा प्रतिनिधि सहभागी भएको उनीहरूले बताएका छन्। युवालाई पार्टीका गतिविधिमा मात्र सीमित नराखी नीति निर्माण र नेतृत्व तहमा समेत सहभागी गराउनुपर्ने उनीहरूको जोड छ।

बागलुङ क्षेत्र नम्बर १ बाट आएका युवा प्रतिनिधिले युवा कोटा, खुला तथा महिला समूहबाट समेत युवाहरू प्रतिनिधिका रूपमा आएको उल्लेख गर्दै अब नेतृत्वमा युवाको सहभागिता अझ बढाउनुपर्ने बताए।

युवा प्रतिनिधिहरूले बदलिँदो समाजका आवश्यकता, वातावरण, जलवायु न्याय, सामाजिक न्याय, समावेशिता र प्रतिनिधित्वलाई समेटेर नीति बनाउन सक्ने नेतृत्व आवश्यक रहेको बताएका छन्। उनीहरूले गगन थापाको नेतृत्वमा पार्टीलाई अगाडि बढाउने अपेक्षासमेत व्यक्त गरेका छन्।

महाधिवेशनमा सहभागी करिब ७ हजार प्रतिनिधिले आफ्नो विवेक प्रयोग गर्दै नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने बताएका छन्। पार्टीभित्र आन्तरिक विवाद र फुटको चर्चा भए पनि युवा प्रतिनिधिहरूले कांग्रेस संकटमा नरहेको दाबी गर्दै वरिष्ठ नेता शेरबहादुर देउवा, गगन थापालगायत शीर्ष नेताहरूबीच संवाद र सहमतिबाट पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

युवा प्रतिनिधिहरूका अनुसार जेन्जी पुस्ता आलोचना गर्ने मात्र नभई समस्याको मूल कारण पहिचान गरी समाधान खोज्न सक्ने पुस्ता भएकाले अब नीति निर्माणदेखि नेतृत्वसम्म उनीहरूको अर्थपूर्ण सहभागिता आवश्यक छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *