कांग्रेसमा जेनजी पुस्ताको दाबी: ‘पार्टीलाई समयानुकूल रूपान्तरण गर्न उम्मेदवारी’
काठमाडौं। नेपाली कांग्रेसको राजनीतिमा नयाँ तथा युवा पुस्ताको सहभागिता र सक्रियता उल्लेखनीय रूपमा बढ्न थालेको छ।
यही क्रममा १८ वर्षीया अभिप्सा पौडेलले बागमती प्रदेशबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि आफ्नो औपचारिक उम्मेदवारी दर्ता गराएकी छन्। उनले आफूलाई नेपालकै सबैभन्दा कान्छो उम्मेदवारका रूपमा प्रस्तुत गर्दै युवाको सशक्त नेतृत्व र महिला सशक्तीकरणलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको स्पष्ट पारेकी छन्।
उम्मेदवारी दर्ता गराएपछि पौडेलले नेपाली कांग्रेसप्रति आमनागरिकमा घट्दै गएको जनविश्वासलाई पुनः अभिवृद्धि गर्ने र पार्टी संगठनलाई थप सुदृढ तथा परिमार्जित बनाउने आफ्नो मूल उद्देश्य रहेको बताइन्।
नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै उनले भनिन्, ‘नेपाली कांग्रेसप्रति घट्दै गएको जनविश्वासलाई फेरि बढाउँदै लैजाने र संगठन सुदृढ बनाउने मेरो पनि मुख्य जिम्मेवारी हो। त्यही जिम्मेवारीबोधका साथ मैले आफ्नो उम्मेदवारी दिएकी हुँ।’
पौडेलले आफूले युवा र महिलाका मुद्दालाई सधैं प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै देशका विभिन्न क्षेत्रमा रहेका महिलाहरूलाई आफ्ना हक-अधिकारबारे सचेत र आत्मनिर्भर बनाउनुपर्नेमा विशेष जोड दिइन्। महिलाहरूले आफ्ना लागि आफैँ निर्भिक भएर आवाज उठाउन सक्ने अनुकूल वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ।
त्यसैगरी, युवा पुस्ताका लागि आफ्नै देशभित्र पर्याप्त रोजगारी र नयाँ अवसरहरू सिर्जना गर्नुपर्ने धारणा उनले व्यक्त गरिन्। स्वदेशमै बसेर उज्ज्वल भविष्य निर्माण गर्न सकिने स्थिति बनेमा युवाहरू विदेशिनुपर्ने बाध्यता अन्त्य हुने र आफ्नै देशमा काम गर्दा गर्व महसुस गर्ने अवस्था सिर्जना हुने उनले बताइन्।
राजनीतिक क्षेत्रमा प्रवेश गर्नुको मुख्य कारणबारे प्रकाश पार्दै पौडेलले बाल्यकालदेखि नै नेतृत्व लिन र अरूको हकहितका लागि आवाज उठाउन आफ्नो विशेष रुचि रहेको बताइन्।
‘राजनीति मेरो रुचिको विषय हो। मलाई सानैदेखि नेतृत्व गर्न मन लाग्थ्यो। कहिल्यै पनि लाइनको पछाडि बस्न मन लागेन र सधैँ अरूका लागि आवाज उठाउन मन लाग्थ्यो। त्यसैले म राजनीतिमा आएकी हुँ,’ उनले भनिन्।
उनले राजनीतिलाई ‘दिमागको खेल’ का रूपमा उल्लेख गर्दै यसलाई आफूले अत्यन्तै चुनौतीपूर्ण तर रुचिकर क्षेत्रका रूपमा स्वीकार गरेको बताइन्।
यसैगरी, पार्टीको नीति निर्माण र नेतृत्व तहमा युवाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने बहस तीव्र भइरहेका बेला २३ वर्षीय गौरव पाण्डेले मधेस प्रदेशको युवा क्लस्टरतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।
पाण्डेका अनुसार उनी ३५ वर्षमुनिको निर्धारित युवा क्लस्टरबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवार बनेका हुन्। उनले आफ्नो उम्मेदवारीलाई ‘अग्रजप्रति सम्मान र युवाको साथ’ लाई केन्द्रमा राखेर अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
‘अग्रजलाई सम्मान र युवाको साथ’ भन्ने मूल भावनाका साथ आफूले उम्मेदवारी दर्ता गराएको पाण्डेले बताए। बदलिँदो राजनीतिक परिस्थिति, नयाँ परिवेश र युवाको बढ्दो अपेक्षालाई सम्बोधन गर्न कांग्रेसभित्र युवाको अर्थपूर्ण सहभागिता हुनु अत्यावश्यक रहेको उनको ठहर छ।
उनले भने, ‘मैले अब अग्रजलाई सम्मान र युवाको साथ भनेको छु। अहिले जुन देशको परिस्थिति र राजनीतिक परिवर्तन भयो, त्यसलाई आत्मसात् गर्दै नेपाली कांग्रेस पार्टीले युवाहरूको सहभागिता सुनिश्चितताका लागि जुन एउटा कोटा छुट्याएको छ (२१ वटामा), त्यसमा आफू योग्य र सक्षम छु भनेर आफ्नो उम्मेदवारी दर्ता गराएको छु।’
पाण्डेले मुलुकको संविधानले युवालाई स्थानीय तहदेखि संघीय राजनीतिसम्म प्रतिनिधित्वको स्पष्ट अवसर दिएको उल्लेख गर्दै राजनीतिक दलहरूभित्र पनि सोहीअनुरूप युवाको सहभागिता हुनुपर्ने धारणा राखे।
देशको समग्र परिवर्तनमा राजनीतिक दलको केन्द्रीय भूमिका हुने भएकाले बदलिँदो पुस्ताको सोच र आवश्यकतालाई पार्टीको नीति तथा नेतृत्व दुवैमा समेट्न जरुरी रहेको उनले बताए।
विशेषगरी एआई (आर्टिफिसियल इन्टेलिजेन्स) र प्रविधिको आधुनिक युगमा कांग्रेसलाई प्रविधिमैत्री बनाउने, तर त्यसक्रममा पुराना तथा अग्रज पुस्ताको अनुभव र अतुलनीय योगदानलाई पूर्ण सम्मान गर्दै अघि बढ्ने उनको मुख्य एजेन्डा छ।
‘अहिलेको एआईको जमानाका युवाले नेपाली कांग्रेसलाई कसरी एआईमैत्री बनाउन सक्छन् र अग्रजहरूको भावना समेटेर अबको पुस्ताले त्यसलाई कसरी अगाडि लैजान सक्छ भन्ने नै मेरो मुख्य चासो हो,’ पाण्डेले भने।
उनले प्रविधिका साथसाथै शिक्षा, व्यावहारिक नीति निर्माण, उद्यमशीलता र स्वरोजगारलाई पनि आफ्नो प्राथमिकतामा राखेका छन्। नेपालमा पर्याप्त लगानीमैत्री वातावरण निर्माण हुन नसकेको विषय उठाउँदै त्यसका लागि अनुसन्धानमा आधारित अध्ययन (रिसर्च बेस्ड स्टडी) र नीतिगत पहल आवश्यक रहेको उनले बताए।
पाण्डेका अनुसार कांग्रेसले युवाको भावना मात्र होइन, पार्टीका लाखौँ निष्ठावान् कार्यकर्ताको अपेक्षालाई समेत समेटेर आगामी दिनको दूरदर्शी नीति निर्माण गर्नुपर्ने आवश्यकता छ।
त्यसका लागि युवाको सहभागितालाई केवल औपचारिक वा सांकेतिक प्रतिनिधित्वमा मात्र सीमित नराखी नीति निर्माण र पार्टी सञ्चालनका महत्त्वपूर्ण तहमा उनीहरूको भूमिका बढाउनुपर्ने उनको भनाइ छ।
‘प्रविधि, शिक्षा, नीति निर्माण, उद्यमशीलता र स्वरोजगारका विषयमा अनुसन्धानमा आधारित अध्ययन गरेर पार्टीको आगामी नीतिमा समेट्न सकिन्छ,’ उनले भने।
२३ वर्षकै उमेरमा कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पाण्डेको दाबीले पार्टीभित्र युवा पुस्ताको प्रवेश र नेतृत्वमा पुस्तान्तरणको बहसलगायतका विषयलाई सतहमा ल्याएको छ। उनको उम्मेदवारीसँगै कांग्रेसको आगामी नेतृत्व र नीतिमा युवाको भूमिका कति प्रभावकारी रूपमा स्थापित हुन्छ भन्ने विषय राजनीतिक वृत्तमा चासोको विषय बनेको छ।
यसैगरी, पार्टीको केन्द्रीय नेतृत्वमा नयाँ पुस्ताको उपस्थिति बढाउने बहस व्यापक भइरहँदा सुदूरपश्चिमका विनोदराज जोशीले पनि खुलातर्फबाट केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी दिएका छन्।
आफू सम्पूर्ण ‘जेनजी’ (Gen Z) पुस्ताको आवाज, विचार र नवीनतम एजेन्डालाई पार्टीको केन्द्रीय तहमा सशक्त प्रतिनिधित्व गराउन उम्मेदवार बनेको उनले बताए।
उनले प्रविधिको तीव्र विकास, आर्टिफिसियल इन्टेलिजेन्सदेखि सुपर इन्टेलिजेन्ससम्मको बहस, बदलिँदो विश्व भू-राजनीति, जलवायु परिवर्तनका गम्भीर असर तथा लैंगिक अल्पसंख्यकका अधिकारजस्ता विषयमा कांग्रेसले स्पष्ट र समयानुकूल नीति बनाउनुपर्ने आवश्यकता औँल्याए।
‘विश्व परिवेशमा नयाँ-नयाँ एजेन्डाहरू आइरहेका छन्। प्रविधिको विकास तीव्र छ, विश्वको भू-राजनीति बदलिरहेको छ, जलवायु परिवर्तनको असर हामीले भोगिरहेका छौँ। यस्ता विषयमा पार्टीको स्पष्ट नीति निर्माण गर्नका लागि पनि मेरो उम्मेदवारी हो,’ जोशीले भने।
उनले कांग्रेस र नयाँ जेनजी पुस्ताबीच पछिल्लो समय देखिएको दूरी घटाउन पनि आफ्नो उम्मेदवारी केन्द्रित रहेको बताए। नयाँ पुस्ताका उच्च अपेक्षा, आधुनिक विचार र राजनीतिक प्राथमिकतालाई पार्टीले गहन रूपमा बुझ्नुपर्ने भन्दै उनले दुई पुस्ताबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको धारणा राखे।
दार्चुलामा जन्मिएका जोशीले आफू सुदूरपश्चिमको प्रतिनिधि भएकोमा गर्व रहेको बताए। लामो समयदेखि विकासका दृष्टिले पछाडि परेको सुदूरपश्चिममा पर्यटन, व्यापार तथा कृषिसहित विभिन्न क्षेत्रमा ठूलो सम्भावना रहेको उनको भनाइ छ।
ऐतिहासिक, भौगोलिक र पूर्वाधारको कमीका कारण सुदूरपश्चिमको विकास प्रक्रिया अन्य क्षेत्रको तुलनामा ढिलो भएको उल्लेख गर्दै उनले अब भने प्रदेशका अथाह सम्भावनाहरूलाई राष्ट्रिय विकासको मूल प्रवाहसँग जोड्नुपर्ने बताए।
सुदूरपश्चिमबाट काठमाडौं आएर विभिन्न पेसा, व्यवसाय र क्षेत्रमा काम गरिरहेका युवाहरूको संख्या ठूलो रहेको उल्लेख गर्दै उनले आफूहरू जहाँ रहे पनि आफ्नो जन्मभूमिका समस्या र सम्भावनाहरूसँग निरन्तर जोडिएको बताए। सुदूरपश्चिमका विकटता, सामाजिक तथा आर्थिक समस्या र विकासका सम्भावनालाई राष्ट्रिय राजनीतिको मुख्य बहसमा ल्याउनुपर्ने उनको भनाइ छ।
जोशीले महाधिवेशनपछि कांग्रेसको केन्द्रीय समितिमा ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व उल्लेख्य रूपमा बढ्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार पार्टीको संरचनामा युवाको सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्थाले नयाँ पुस्तालाई नेतृत्वमा आउने सुनौलो अवसर प्रदान गरेको छ।
उनले आगामी दिनमा युवाहरूले पार्टीभित्र सक्रिय र प्रभावकारी भूमिका खेल्दै दुई पुस्ताबीच ‘पुल’ (Bridge) को भूमिका निर्वाह गर्नुपर्ने बताए।
उनका अनुसार युवाको भूमिका केवल संख्यात्मक वा नाममात्रको प्रतिनिधित्वमा सीमित हुनुहुँदैन। नीति निर्माण, पार्टी सञ्चालन र समसामयिक राष्ट्रिय विषयमा कांग्रेसको धारणा निर्माणमा समेत युवाको प्रभावकारी सहभागिता अनिवार्य छ।
‘अबको अधिवेशनपछि नेपाली कांग्रेसमा युवाहरूको सक्रिय र हस्तक्षेपकारी भूमिका रहनेछ। दुई पुस्ताबीच एउटा ‘ब्रिज’ को भूमिका खेल्दै जनताले फेरि कांग्रेसप्रति पूर्ण विश्वास गर्न सक्ने वातावरण निर्माण गर्न युवा पुस्ताले अग्रणी भूमिका खेल्नुपर्छ,’ जोशीले भने।
No ads found for this position




Facebook Comment