भोटेकोशी बाढी पीडितका लागि साढे २९ लाख सहयोग हस्तान्तरण
काठमाडौं। भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार, पुनस्थापना तथा पुनर्निर्माणका लागि दुई संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग उपलब्ध गराएका छन्।
‘बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता’ (सिएनसिबिसी) र पाल्पास्थित ‘रिब्डीकोट बुद्ध विहार’ले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठमार्फत कोषमा उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्।
बुधबार सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रमका बीच दुवै संस्थाका प्रतिनिधिहरूले मन्त्री श्रेष्ठलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको मन्त्रीका प्रमुख स्वकीय सचिव सञ्जीव महर्जनले जानकारी दिए।
प्राप्त विवरणअनुसार बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) को तर्फबाट कुल २८ लाख ९८ हजार ६७९ रुपैयाँ सहयोग प्राप्त भएको छ। भूपू सैनिक कल्याणकारी समिति नेपालका अध्यक्ष होमबहादुर थापा र सिएनसिबिसीका उपाध्यक्ष दलबहादुर बुढाथोकीले मन्त्री श्रेष्ठलाई संयुक्त रूपमा सो रकमको चेक बुझाएका हुन्।
यसैगरी पाल्पाको रिब्डीकोट बुद्ध विहारको तर्फबाट ४० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ। विहारका अध्यक्ष हुमबहादुर थापाले मन्त्री श्रेष्ठलाई सो रकमको चेक हस्तान्तरण गरे।
सहयोग रकम बुझ्दै मन्त्री श्रेष्ठले भोटेकोशी बाढीका कारण उत्पन्न संकटको घडीमा विदेशमा रहेका नेपालीहरू तथा स्थानीय धार्मिक-सामाजिक संस्थाहरूबाट प्राप्त यो सहयोग अत्यन्तै सराहनीय र उदाहरणीय रहेको बताए।
हस्तान्तरण गरिएको सम्पूर्ण रकम पारदर्शी रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढी प्रभावित क्षेत्रका वास्तविक पीडितहरूकै राहत र पुनर्निर्माणमा सदुपयोग गरिने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment