नेपाल विज्ञापन संघद्वारा ‘कृति इग्नाइट’मार्फत १३औं कृति अवार्ड्सको उद्घाटन

डिसी नेपाल
२२ असोज २०८३ १२:५९

काठमाडौं। नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको रेडबुल १३औँ कृति अवार्ड्स २०८३ को औपचारिक उद्घाटन ‘कृति इग्नाइट’ कार्यक्रममार्फत सम्पन्न भएको छ।

काठमाडौंमा आयोजित विशेष समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको प्रमुख आतिथ्यमा अवार्ड्सको उद्घाटन गरिएको हो। उक्त कार्यक्रममा विज्ञापन तथा सञ्चार क्षेत्रका साथै विभिन्न उद्योग र व्यवसाय क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

नेपाली विज्ञापन तथा सञ्चार क्षेत्रमा सिर्जनशीलता र उत्कृष्टताको सम्मान गर्दै आएको कृति अवार्ड्सको यस वर्षको संस्करण विभिन्न व्यावसायिक तथा नियामक संस्थाहरूको सहकार्यमा आयोजना भइरहेको छ।

यस पटक नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल सरकारको विज्ञापन बोर्डले अवार्ड्सलाई समर्थन गरेका छन्।

यसका साथै ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान), सामुदायिक रेडियो प्रसारक संघ (अकोराब), रेडियो ब्रोडकास्टर्स फोरम, नेपाल मिडिया सोसाइटी र मिडिया एलायन्स नेपाल यस वर्षदेखि सह-आयोजकका रूपमा जोडिएका छन्।

यस वर्ष आनका गैर-सदस्यहरूका लागि समेत मनोनयन खुला गरिएको आयोजकले जनाएको छ।

विभिन्न व्यावसायिक तथा सञ्चार क्षेत्रका संघसंस्थाहरूको व्यापक सहभागिताले कृति अवार्ड्सलाई अझ समावेशी र बृहत् बनाउने र यसले नेपालको विज्ञापन एवं आमसञ्चार उद्योगमा व्यावसायिक उत्कृष्टताको प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास लिइएको छ। उद्घाटन समारोहमा नेपाली विज्ञापन तथा आमसञ्चार क्षेत्रको विकासक्रम झल्काउने अडियो-भिजुअल प्रस्तुति प्रस्तुत गरिएको थियो।

कार्यक्रममा आनका पूर्वअध्यक्ष, कृति अवार्ड्सका प्रवर्द्धक एवं मिडिया एलायन्स नेपालका संस्थापक अध्यक्ष भाष्करराज राजकर्णिकारले स्वागत मन्तव्य राखेका थिए।

त्यसैगरी १३औँ कृति अवार्ड्सका शीर्ष प्रायोजक सारस बेभरेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिवाल र विज्ञापन बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठलगायतले शुभकामना व्यक्त गरेका थिए भने आनका अध्यक्ष सुदीप थापाले धन्यवाद ज्ञापन गरेका थिए।

कृति अवार्ड्स २०८३ अन्तर्गत नेपाली विज्ञापन तथा सञ्चार क्षेत्रमा उत्कृष्ट सिर्जना र योगदान पुर्‍याउनेहरूलाई सम्मान गर्ने प्रक्रिया अब अघि बढ्ने आयोजकले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *