जिम्मेवार डिजिटल स्टोरीटेलिङमा त्रिविका विद्यार्थीलाई टिकटकको प्रशिक्षण

डिसी नेपाल
२५ असोज २०८३ १०:०८

काठमाडौं।  परिवर्तन हुँदै गएको मिडिया परिदृश्य र मोबाइल तथा सामाजिक सञ्जालको बढ्दो प्रभावलाई ध्यानमा राख्दै त्रिभुवन विश्वविद्यालयमा दुईदिने ‘मास्टरक्लास अन जर्नालिज्म एन्ड डिजिटल स्टोरीटेलिङ’ आयोजना गरिएको छ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभाग  र टिकटकको संयुक्त आयोजनामा असोज २३ (अक्टोबर ९) मा उक्त कार्यशाला सम्पन्न भएको हो। कार्यशालामा पत्रकारिता विषयमा स्नातकोत्तर तथा स्नातक तहका विद्यार्थी, प्राध्यापक, पत्रकार तथा डिजिटल क्रिएटरहरूको सहभागिता रहेको थियो।

कार्यशालामा डिजिटल युगमा सत्यता, तथ्य जाँच, जवाफदेहिता र जनहितजस्ता पत्रकारिताका आधारभूत सिद्धान्तलाई कायम राख्दै कसरी रचनात्मक तरिकाले समाचार सामग्री तयार पार्ने भन्नेबारे व्यावहारिक प्रशिक्षण दिइएको थियो।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले डिजिटल युगमा सूचना सिर्जना र खपतको शैली बदलिएकाले पत्रकारिता शिक्षालाई पनि सोहीअनुरूप परिमार्जन गर्नुपर्ने बताए। “विद्यार्थीलाई बदलिँदो सञ्चार माध्यम बुझ्न र नया सीप सिक्न यस्ता मास्टरक्लासले ठूलो सहयोग पुर्‍याउँछन्,” उनले भने।

त्यस्तै, टिकटककी सञ्चार प्रमुख (दक्षिण एसिया, मध्यपूर्व तथा पूर्वी युरोप क्षेत्र) रोला अबु हसनले टिकटक केवल मनोरञ्जनको थलो मात्र नभई जिम्मेवार र तथ्यपरक स्टोरीटेलिङको माध्यम पनि बन्न सक्ने बताइन्।

प्रशिक्षणका क्रममा आयोजित प्यानल छलफलमा ‘न्यूजरुमदेखि न्यूजब्याकसम्म’को यात्रा, पत्रकारितामा कृत्रिम बुद्धिमत्ता को प्रयोग, डिजिटल सेक्युरिटी, कम्युनिटी गाइडलाइन्स र भ्रामक सूचना  रोकथामबारे गहन विमर्श भएको थियो।

प्यानल छलफलमा टिकटकका सरकारी सम्बन्ध तथा सार्वजनिक नीति प्रतिनिधि किरण चापागाईं, सिडिजिएमसीका डा. श्रीराम पौडेल, बाह्रखरीका प्रधानसम्पादक प्रतीक प्रधान र कन्टेन्ट क्रिएटर रोनीष्मा श्रेष्ठको सहभागिता रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *