बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित
काठमाडौं। गोरखाको चुमनुव्री गाउँपालिका-६ लोक्पा र चुम्लिङको बीचमा खसेको ठूलो पहिरोका कारण बूढीगण्डकी नदीमा भीषण बाढी आएको छ। बाढीमा परी दुई महिला र तीन पुरुष गरी पाँच जना बेपत्ता भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुव्री गाउँपालिका-६ चुम्चेतको उङ्गिलुङ निवासी उनीहरू भेडीगोठमा बसिरहेका बेला बाढीले बगाएर बेपत्ता भएका हुन्।
प्राधिकरणका प्रवक्ता शान्ति महतले बाढीले गोरखाका विभिन्न स्थानमा घर, झोलुङ्गे तथा पक्की पुल, विद्युत्का खम्बा र टेलिफोन टावरमा ठूलो क्षति पुर्याएको जानकारी दिइन्। उनका अनुसार धार्चे गाउँपालिका-३ सल्लेरीस्थित निर्माणाधीन ‘टाइम्स ऊर्जा प्रालि’ र आसपासका सातदेखि आठ वटा घर बाढीले बगाएको छ।
यसैगरी, चुमनुब्री गाउँपालिका-३ न्याकचेतमा न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ भने सोही स्थानमा एउटा घर बगेको र अर्को घरमा बाढी पसेको छ। धार्चे गाउँपालिका-५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुलसमेत बाढीले बगाएको उनले बताइन्।
बाढीको क्षतिबारे थप जानकारी दिँदै प्रवक्ता महतले भनिन्, “आरुघाट गाउँपालिका-९ नयाँपुलस्थित गोरखा र धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको भाग बगाएको छ। साथै आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बगेको छ।” माछीखोलाको तल्लो बस्तीमा बाढी पस्दा त्यहाँका २० देखि २२ घर गम्भीर जोखिममा परेका छन्।
यस्तै, बूढीगण्डकी जलविद्युत् आयोजनाको ३४१ मेगावाट क्षमताको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरणहरूसमेत बाढीले बगाएको छ। बाढीका कारण क्षेत्रभर दुई वटा टेलिफोन टावर र ५० वटा विद्युत्का खम्बामा क्षति पुगेको छ।
बाढीको सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मी परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय आरुघाटबाट २५ जना प्रहरी परिचालन गरिएका छन् भने सल्लेरीस्थित टाइम्स ऊर्जा प्रालिका १२ जना कर्मचारीलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको छ।
प्रभावित क्षेत्रमा ४३७ सुरक्षाकर्मी परिचालन
बाढी प्रभावित क्षेत्रमा तीव्र रूपमा खोज तथा उद्धार कार्य चलाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी कुल ४३७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले खोज तथा उद्धारका लागि नेपाली सेनाका चार वटा हेलिकप्टर प्रयोग भइरहेको बताए। सेनाको हेलिकप्टरमार्फत हालसम्म ४७ जनाको सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिसकिएको उनले जनाए।
बाढीको पूर्वसूचना र प्रतिकार्यबारे जानकारी दिँदै डा. उप्रेतीले भने, “घटनाको सूचना पाउनासाथ गोरखा, धादिङ र चितवनको बेनीघाटसम्मका तटीय क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत पूर्वसूचना पठाइएको थियो।” साथै गोरखा, धादिङ, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका २२१ जना प्रतिकार्यकर्तालाई तत्काल परिचालनका लागि सूचना पठाइसकिएको उनले बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment