उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि
कास्की। पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनामध्ये तीन जनाको आज साँझ अन्त्येष्टि गरिएको छ। यसैगरी गम्भीर घाइते एक जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ।
सौर्य माझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको कालिका इङलिस बोर्डिङ स्कुलको ग२ख १४१७ नम्बरको बस दुर्घटनामा चार विद्यार्थी र एक अन्य व्यक्तिको मृत्यु भएको थियो।
विद्यालयले मृतकका परिवारलाई राहत रकम उपलब्ध गराउने र घाइतेको उपचार खर्च बेहोर्ने सहमति गरेपछि मृतक विद्यार्थी ममता तिवारी, असिम कँडेल र शुभेच्छा तिवारीको शव परीक्षणपछि आइतबार साँझ ७ः०० बजेपछि पोखराको सेती नदी किनारस्थित रामघाटमा अन्त्येष्टि गरिएको पोखरा–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालयमा भएको पीडित पक्ष र विद्यालय सञ्चालकबीचको वार्तामा विद्यालयले मृतकका परिवारलाई जनही रु तीन लाख ५० हजारका दरले राहत रकम उपलब्ध गराउने सहमति भएको उनले बताए।
मृतकका परिवारले बिमाबापतको रकमसमेत प्राप्त गर्नेछन् भने विद्यालयले दुर्घटनामा घाइते भएकाहरूको उपचारमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने सहमति भएको छ।
“जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा सहमति भएपछि पीडित परिवारले शव बुझेर तीन जनाको आइतबार साँझ अन्त्येष्टि गरेका छन्। बाँकी दुई जनाका परिवारका सदस्य विदेशबाट आउँदै गरेकाले उनीहरूको अन्त्येष्टि अर्को दिन गरिनेछ”, वडाध्यक्ष लामिछानेले भने। उनका अनुसार दुर्घटनामा मृत्यु भएकी विद्यार्थी रुमिका नेपालीका बुबा विदेशबाट आउँदै छन् भने बाबुराम तिवारीका छोरा पनि देश बाहिर छन्।
यसैबीच, दुर्घटनामा गम्भीर घाइते भएकी १६ वर्षीया अस्मी कँडेललाई थप उपचारका लागि आइतबार साँझ ४ः४५ बजे हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ। जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग समन्वय गरी मुस्ताङ एयरको हेलिकप्टरबाट उहाँलाई काठमाडौंस्थित बिएण्डबी अस्पताल पठाएको प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङले जानकारी दिनुभयो।
जिल्ला प्रशासन कार्यालयका अनुसार दुर्घटनामा घाइते भएकामध्ये सात विद्यार्थीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने उपचारपछि तीन जना घर फर्किएका छन्। यस्तै, गण्डकी मेडिकल कलेजमा तीन जनाको उपचार भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment