बाढीपहिरोले देशका पाँच जिल्लाका मुख्य राजमार्ग प्रभावित, गोरखामा सडक पूर्ण रूपमा अवरुद्ध
काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरुका कारण देशका पाँच जिल्लाका मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले दिएको जानकारीअनुसार गोरखाको एक सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने म्याग्दी, नवलपरासी पूर्व, मनाङ र धादिङका राजमार्गहरू एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेका छन्।
गोरखाको आरुघाट गाउँपालिकास्थित सोतीमा आएको बाढीले पुल तथा सडकमा गम्भीर क्षति पुर्याएपछि आरुघाट–धादिङ सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ। सडक ठप्प हुँदा त्यस क्षेत्रको यातायात आवागमन पूरै प्रभावित बनेको प्रहरीले जनाएको छ।
त्यस्तै पहिरो र बाढीका कारण म्याग्दीको बेनी–जोमसोम सडक, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, मनाङको बेँसीसहर–खाङ्सार सडक र धादिङको त्रिभुवन राजपथ प्रभावित भएका छन्। यी चार जिल्लाका सडकमा हाल एकतर्फी रूपमा मात्र सवारीसाधन सञ्चालन भइरहेका छन्। कालीगण्डकी करिडोरमा भने सडकको अवस्था कमजोर रहेकाले ठूला सवारीसाधनको आवागमन रोकिएको छ।

No ads found for this position



डिसी नेपाल
Facebook Comment