दसैँको रौनकसँगै गाउँघरबाट हराउँदै परम्परागत पिङ

डिसी नेपाल
२६ असोज २०८३ ९:२५
4
Shares

डडेल्धुरा। नेपालीहरूको महान् पर्व बडादसैँ सुरु भएसँगै गाउँघरमा चाडपर्वको चहलपहल बढेको छ। रोजगारी तथा अन्य कामको सिलसिलामा घरबाहिर रहेका मानिसहरू दसैँ मनाउन जन्मथलो फर्किन थालेका छन्। तर, दसैँको उमङ्ग र मौलिक संस्कृतिसँग जोडिएको परम्परागत पिङ भने पछिल्लो समय गाउँघरबाटै हराउँदै जान थालेको छ।

विगतमा दसैँ आउनुभन्दा एक साताअघिदेखि नै गाउँटोलमा पिङ बनाउने चटारो हुन्थ्यो। पिङ राख्न युवादेखि वृद्धवृद्धासम्म जुट्ने गर्थे। पिङ खेल्ने बहानामा लामो समयदेखि भेट नभएका साथीभाइ र छिमेकीबीच भेटघाट हुने तथा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म रमाउने वातावरण बन्थ्यो। अहिले भने यस्ता दृश्य क्रमशः दुर्लभ बन्दै गएका छन्।

चार वर्षअघि रोजगारीका लागि भारतको ब्याङ्गलोर गएर फर्किएका नवदुर्गा गाउँपालिका–३ का सुरेश विकलाई पनि यस वर्षको दसैँ पहिलेको जस्तो रमाइलो लागेको छैन। वर्षौंसम्म छुट्टिएका साथीभाइसँग भेट हुँदा खुसी लागे पनि चाडपर्वसँग जोडिएका परम्परा र मौलिक संस्कृति संरक्षणमा चासो घट्दै गएको उनको अनुभव छ।

आलिताल गाउँपालिका–४ का जोगराज भट्टका अनुसार पहिले सहरबजारमा हराउँदै गएको पिङ राख्ने चलन अहिले गाउँघरमा समेत घट्दै गएको छ। पिङ बनाउने भनेपछि टोलछिमेकका सबै मानिस जम्मा हुने र दसैँमा भेटघाटको अवसर मिल्ने गरेको उनी सम्झन्छन्।

“पिङ राख्ने ठाउँमा वर्षौंसम्म नभेटिएका साथीहरू पनि दसैँमा भेला हुन्थे। बालबालिकाको उत्साह पनि उस्तै हुन्थ्यो। अहिले पिङ मात्रै हराएको छैन, पिङसँगै दसैँको रमाइलो पनि हराएजस्तो लाग्न थालेको छ”, भट्टले भने।

बजार क्षेत्रमा सार्वजनिक स्थानको अभाव, मनोरञ्जनका नयाँ विकल्प र सामाजिक सञ्जालको बढ्दो प्रयोगले पनि परम्परागत पिङप्रतिको आकर्षण घटाएको स्थानीयको भनाइ छ। पहिले टोलटोलमा पिङ राखिने गरेकामा अहिले सिङ्गो गाउँमा समेत पिङ भेट्टाउन मुस्किल हुन थालेको अमरगढी नगरपालिका–३ की गीताञ्जली साउद बताउँछिन्।

अजयमेरु गाउँपालिका–३ का ८५ वर्षीय पदम एडीका अनुसार पहिले दसैँ आउनुभन्दा एक साताअघिदेखि नै पिङ बनाउने तयारी सुरु हुन्थ्यो। पिङका लागि लिङ्गा खोज्ने, बाँस काट्ने र बजारमा पाइने लट्ठा नपाए बाबियोबाट डोरी बाट्ने काममा गाउँलेहरू जुट्थे। अहिले भने पिङ बनाउने परम्परा नै ओझेलमा परेको उनको अनुभव छ।

परम्परागत रूपमा चार दिशामा बाँस गाडेर लिङ्गेपिङ बनाइन्थ्यो। बाबियोबाट बनाइएका बलिया डोरी प्रयोग गरेर तयार पारिने पिङको माथिल्लो भागमा सयपत्री र लालुपाते फूल राखेर सजाउने चलन थियो। फूलले सिँगारिएको पिङ बेहुलीजस्तै आकर्षक देखिन्थ्यो। बालबालिकादेखि वृद्धवृद्धासम्म पिङ खेल्न उत्साहित हुने भए पनि युवाहरूको सहभागिता विशेष हुने गर्थ्यो।

अहिले केही ठाउँमा फाट्टफुट्ट पिङ राख्ने गरिए पनि विगतको तुलनामा यसको सङ्ख्या निकै घटेको छ। प्रविधिको विकाससँगै मनोरञ्जनका माध्यम फेरिएका छन्। फेसबुक, इन्स्टाग्राम र टिकटकमा समय बिताउने प्रवृत्ति बढ्दा सामूहिक रूपमा पिङ बनाउने र खेल्ने परम्परा कमजोर बन्दै गएको स्थानीयको बुझाइ छ।

दसैँको टीकाका दिन कम्तीमा एकपटक पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने जनविश्वास अझै गाउँघरमा प्रचलित छ। तर, यस्तो परम्परालाई निरन्तरता दिन आवश्यक चासो र सहभागिता घट्दै गएको छ।

अजयमेरु गाउँपालिकाका अध्यक्ष विकास भट्टले दसैँ र तिहारजस्ता पर्वसँग जोडिएका मौलिक परम्परा हराउँदै जान थालेकोमा चिन्ता व्यक्त गरे। सामाजिक सञ्जालमा मानिसहरूको व्यस्तता बढ्दै जाँदा परम्परागत संस्कृतिप्रति चासो कम भएको उनको भनाइ छ।

दसैँ केवल टीका, जमरा र खानपानमा सीमित नभई भेटघाट, सामूहिक सहभागिता र सांस्कृतिक परम्पराको उत्सव पनि हो। त्यसैले पिङ खेल्ने चलनजस्ता मौलिक परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा यसको महत्त्व हस्तान्तरण गर्नुपर्ने आवश्यकता देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *