स्थानीय चुनावका लागि रास्वपाको नयाँ विधि: ‘मनी र मसल’ रोक्न वैज्ञानिक उम्मेदवार छनोट विधि

डिसी नेपाल
२८ असोज २०८३ १८:०९
36
Shares

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’ जारी गरेको छ।

पार्टीको विधानको धारा ६३ को उपधारा (२) र धारा ८३ को उपधारा (१) बमोजिम केन्द्रीय समितिबाट स्वीकृत यस रूपरेखाले उम्मेदवार चयन प्रक्रियालाई पूर्ण रूपमा वैज्ञानिक, वस्तुपरक, पारदर्शी र संस्थागत बनाउने उद्देश्य लिएको छ।

नेपालको राजनीतिमा व्याप्त गुटबंदी, परिवारवाद, पैसा र बाहुबलको प्रभावलाई चिर्दै जनउत्तरदायी, सक्षम र इमानदार नेतृत्व पहिचान गर्न यो विधि ल्याइएको पार्टीले जनाएको छ।

रास्वपामा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूले पहिलो चरणमा क्यान्डिडेट क्लबमा आवेदन दिनुपर्नेछ। त्यसपछि उनीहरूले लिडरसिप एकेडेमीको अनिवार्य प्रशिक्षण र परीक्षण चरण पार गर्नुपर्नेछ।

उम्मेदवार छनोटका लागि लिडरसिप एकेडेमीलाई २५ प्रतिशत भारांक दिइएको छ भने पोलिटिकल प्रोक्सिमिटी, समावेशिता र प्रारम्भिक निर्वाचनलाई मुख्य आधार बनाइएको छ। पार्टीले उम्मेदवार छनोट प्रक्रियामा पारदर्शिता कायम गर्न पूर्ण दस्तावेजीकरणको व्यवस्था गरेको छ।

नयाँ तथा योग्य व्यक्तिहरूलाई राजनीतिमा आकर्षित गर्न र कुलिङ पिरियडको व्यवस्थालाई व्यवस्थित गरिएको छ। पहिलो पटक राजनीतिक दलमा आबद्ध हुनेहरूको हकमा पालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्षका लागि कम्तीमा ४५ दिनको कुलिङ पिरियड राखिएको छ भने अन्य दलबाट प्रवेश गर्नेहरूको हकमा ९० दिनको समयसीमा तोकिएको छ।

साथै, समाजका प्रतिष्ठित, विज्ञ र स्वच्छ छवि भएका व्यक्तिहरूका लागि विशेष परिस्थितिमा ‘ल्याटरल इन्ट्री’ को व्यवस्था समेत गरिएको छ, जस अन्तर्गत निश्चित तहका कमिटीहरूको लिखित सहमति लिनुपर्नेछ।

स्थानीय तहलाई सुशासन, प्रभावकारी सेवा प्रवाह, आर्थिक विकास र जनसहभागिताको केन्द्र बनाउन यो रूपरेखा कोसेढुङ्गा साबित हुने पार्टीको विश्वास छ। महिला, युवा र सीमान्तकृत समुदायको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्दै समाजको वास्तविक बहुविविधता प्रतिबिम्बित हुने नेतृत्व स्थापित गर्न यो प्रक्रियाले ठोस आधार प्रदान गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *