घटस्थापनादेखि २ लाख ६२ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका
काठमाडौं। नेपालीहरूको महान् चाड बडादसैँ मनाउनका लागि घटस्थापनादेखि आजसम्म २ लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका छन्।
पछिल्लो केही दिनयता काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप सबै नाकामा बढ्दै गएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले घटस्थापनादेखि आजसम्म कुल ३७ हजार ९६४ वटा सवारीसाधनमार्फत उक्त सङ्ख्यामा यात्रुहरू उपत्यकाबाट बाहिरिएको जानकारी दिए।
दशैं नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायका सिलसिलामा काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका नागरिकहरू आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका नयाँ तथा पुराना बसपार्क र प्रमुख नाकाहरूमा यात्रुको चाप अत्यधिक बढेको प्रहरीले जनाएको छ।
उपत्यका छाड्ने कुल यात्रुहरूमध्ये १ लाख १५ हजार ८६ जना महिला र १ लाख ६१ हजार १६७ जना पुरुष रहेका छन्। दसैँ मनाउन घर फर्किने क्रम तीव्र भएसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनहरूमा यात्रुको चाप निरन्तर बढिरहेको वरिष्ठ उपरीक्षक काफ्लेले बताए।
उपत्यका छाड्ने यात्रुको संख्या बढेसँगै काठमाडौँ उपत्यकाका प्रमुख नाकाहरूमा सवारीसाधनको आवागमन पनि बाक्लिएको छ। देशका विभिन्न जिल्लातर्फ जाने यात्रुहरू सार्वजनिक बस तथा अन्य निजी एवं साना सवारीसाधनमार्फत आफ्ना गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुंगा, फर्पिङ, थानकोट, भीमढुंगा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाहरूबाट यात्रु बाहिरिने क्रम जारी छ।
ती नाकाहरूमा दशैंका लागि घर फर्किने यात्रुको चाप बढ्दै गएपछि सवारीसाधनको आवागमन व्यवस्थापनलाई चुस्त र सुव्यवस्थित बनाउन ट्राफिक प्रहरीले विशेष ध्यान दिएको जनाइएको छ।
चाडपर्वका बेला सार्वजनिक यातायातमा यात्रुको चाप उच्च हुने भएकाले यात्रुहरूलाई सुरक्षित, सहज र व्यवस्थित यात्रा गराउन नेपाल प्रहरी र यातायात व्यवसायीहरूले संयुक्त रूपमा प्रभावकारी जाँचको व्यवस्था मिलाएका छन्।
दसैँ, तिहारलगायतका प्रमुख चाडपर्वका समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्न र सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले स्पष्ट पारे।
यात्रुको आवागमनलाई सहज बनाउने, सडकमा हुने सवारीसाधनको चाप व्यवस्थापन गर्ने र सम्भावित दुर्घटनाहरू रोक्ने उद्देश्यले ट्राफिक प्रहरीले सबै सडक तथा नाकाहरूमा कडा निगरानी बढाएको उनले बताए।
प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले यात्रुको सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको र सबैको यात्रा सफल एवम् सुरक्षित बनाउनु नै मुख्य उद्देश्य रहेको उल्लेख गरे।
यस्तै, चाडपर्वका समयमा लामो दूरीको यात्रा गर्ने यात्रुहरूले सवारीसाधनको प्राविधिक अवस्था, चालकको स्वास्थ्य स्थिति तथा सवारी चलाउने समय (पालो) जस्ता संवेदनशील विषयमा विशेष ध्यान दिनुपर्ने उनले बताए। यात्रु र सवारी चालक दुवैले सजगता र सावधानी अपनाउँदा सम्भावित दुर्घटनाहरू निकै कम गर्न सकिने धारणा उनले व्यक्त गरे।
यसैबीच, यातायात व्यवस्था विभागका अनुसार हाल नागढुंगा-नौबिसे सडकखण्ड, मुग्लिन-नारायणगढ सडक, कान्ति लोकपथ र बिपी राजमार्गलगायतका मुख्य राजमार्ग तथा प्रमुख सडकहरूमा दुवैतर्फबाट यातायात सञ्चालन भइरहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment