कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु
कास्की। कास्कीमा गत असोज महिनामा भएका ५९ वटा सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार अन्य महिनाको तुलनामा असोजमा सवारी दुर्घटनाको सङ्ख्या बढी देखिएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ती दुर्घटनामा ७९ वटा सवारीसाधन संलग्न थिए। दुर्घटनामा संलग्न सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार तीव्र गति र चालकको लापरवाही सवारी दुर्घटनाका प्रमुख कारण हुन्। असोज महिनामा तीव्र गतिका कारण मात्रै २० वटा दुर्घटना भएका थिए।
गत असोज २३ गते कास्कीमा कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा पाँच विद्यार्थीसहित छ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए। उक्त दुर्घटनामा ठूलो मानवीय क्षति भएको थियो।
प्रहरी नायब उपरीक्षक पासवानले असोजमा विद्यालय बस दुर्घटनासहित अन्य साना दुर्घटना पनि बढेको बताए। उनका अनुसार चालकको लापरवाही र तीव्र गतिका कारण दुर्घटनाको जोखिम बढिरहेको छ।
प्रहरीको तथ्याङ्कअनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउँदा १० वटा, चालक अनुमतिपत्र नभएका चालकका कारण पाँच वटा र यान्त्रिक समस्याका कारण एउटा दुर्घटना भएको थियो। त्यस्तै, अन्य कारणले २३ वटा दुर्घटना भएका थिए।
यसैबीच, प्रहरीले असोज महिनामा सवारी नियम उल्लङ्घन गर्नेविरुद्ध चार हजार ७८५ वटा कारबाही गरेको छ। उक्त कारबाहीबाट ३९ लाख ९८ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सवारी दुर्घटनाबाहेक असोज महिनामा कास्कीमा विभिन्न विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ। सुक्खा पहिरोमा परेर दुई पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ।
उक्त अवधिमा जिल्लामा आगलागीका पाँच, अविरल वर्षाका २८, चट्याङका दुई र सुक्खा पहिरोका दुई घटना भएका थिए। अविरल वर्षाका कारण चार घरमा आंशिक क्षति पुगेको थियो भने चट्याङका घटनामा तीनवटा चौपाया मरेका थिए।
त्यसैगरी, प्राकृतिक सम्पदाको दोहन नियन्त्रण गर्ने क्रममा प्रहरीले सात वटा सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा पठाएको छ। उक्त कारबाहीबाट एक लाख १४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment