पूर्ववडाध्यक्षसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । ओखलढुङ्गाको लिखु गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा ३१ लाख ६७ हजार २०० रुपैयाँ अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा सामाजिक सुरक्षा भत्ता वितरणमा व्यापक अनियमितता भएको भन्ने उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय ओमबहादुर दर्जी र अभयकुमार गुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरी, एमआईएस अपरेटर खिला विक र तत्कालीन वडाध्यक्ष शुकविर तामाङको मिलेमतोमा सरकारी रकम हिनामिना भएको देखिएको आयोगले जनाएको छ। दोषी देखिएका तत्कालीन वडाध्यक्ष तामाङको दायाँ हातको बुढीऔँलाको छाप ३६० पटक प्रयोग गरी दुई आर्थिक वर्षका तीन–तीनवटै चौमासिकमा सामाजिक सुरक्षा भत्ताबापत २९ लाख १५ हजार २०० रुपैयाँ अनियमित तरिकाले भुक्तानी लिएको खुलेको छ।
यसैगरी, वास्तविक लाभग्राहीको नामावलीमा दोहोरो नाम समावेश गर्ने, मृत्यु भइसकेका व्यक्तिहरूको लगत कट्टा नगरी भत्ता वितरण गर्ने तथा बसाइँसराइ गरी अन्यत्र गइसकेका व्यक्तिहरूको नामसमेत कायम राखी रकम भुक्तानी लिएको पाइएको छ। यसका अतिरिक्त, गलत विवरणसहितका अभिलेख तयार गरी पेश्की फर्छ्योट गराएर थप दुई लाख ५२ हजार रुपैयाँ हिनामिना गरिएको अनुसन्धानबाट खुल्न आएको छ।
अख्तियारले कसुरको मात्रा र संलग्नताका आधारमा बिगो कायम गरेको छ। जसमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीविरुद्ध नौ लाख ५३ हजार छ सय रुपैयाँ, अभयकुमार गुप्ताविरुद्ध ११ लाख ६७ हजार दुई सय रुपैयाँ र दिनानाथ चौधरीविरुद्ध सात लाख ९४ हजार चार सय रुपैयाँ बिगो तोकिएको छ।
त्यसैगरी, तत्कालीन वडाध्यक्ष शुकविर तामाङ र एमआईएस अपरेटर खिला विकविरुद्ध जनही ३१ लाख ६७ हजार दुई सय रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सार्वजनिक सम्पत्ति हिनामिना तथा दफा ११ बमोजिम सरकारी अभिलेख बदनियतपूर्वक हेरफेर गरेको कसुरमा कारबाहीको मागदाबी गरिएको छ।
आयोगका प्रवक्ता न्यौपानेका अनुसार हिनामिना भएको सम्पूर्ण बिगो असुलउपर गर्न, बिगोबराबरको जरिवाना तिराउन तथा कानुनबमोजिम कैद सजाय गर्न माग गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment