पश्चिमी न्यूनचापीय वायु सक्रिय : अझै सतर्कता अपनाउन आग्रह

डिसी नेपाल
२८ मंसिर २०७६ २२:३८

काठमाडौं। दुई दिनदेखि जारी पश्चिमी न्यूनचापीय वायुको प्रभावले देशभर बद्लीसँगै वर्षा तथा हिमपात गरएको छ । उक्त मौसमी प्रणालीको प्रभावले आज केही उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले उच्च पहाडीसहित हिमाली भूभागका स्थानमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले शनिबार साँझ मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गर्दै नेपालमा न्यूनचापीय वायुको प्रभाव कायमै रहेको हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बद्ली भई बाँकी भूभागमा आंशिक बद्ली रहेको जनाएको छ ।

शनिबार राति देशको पश्चिमी भूभाग तथा मध्य र पूर्वी पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी भेगमा आंशिक बदली रहनेछ । पहाडी भेगको एक दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

आइतबार दिउँसो देशको पश्चिमी क्षेत्र तथा मध्य र पूर्वी पहाडी भेगमा सामान्य बदली रहनेछ भने बाँकी भेगमा आंशिक बदली तथा पश्चिमका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

सोमबारदेखि देशको केही पहाडी भेगमा आंशिक बदली रहे पनि अधिकांश भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँमा ३३ मिलिमिटर वर्षा भएको छ । नेपालगञ्जमा ५३, वीरेन्द्रनगरमा ३१, दिपायल र डडेलधुरामा समान २४ मिलिमिटर वर्षा भएको छ ।

त्यस्तै जुम्लामा ३६, पोखरा र दाङमा समान १७, लुम्लेमा ५०, भैरहवा र सिमरामा समान २१ मिलिमिटर वर्षा भएको छ । ताप्लेजुङमा ३८, ओखलढुङ्गामा २४, जिरीमा ३१ मिलिमिटर वर्षा भएको छ । शनिबार काठमाडौँको न्यूनतम तापक्रम ७ र अधिकतम तापक्रम १७ डिग्री सेल्सियस रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.